मधेसको समस्या वार्ता र संवादका माध्यमबाटै समाधान गर्नुपर्ने: डा विष्ट

इनेप्लिज २०७२ पुष २१ गते १५:४२ मा प्रकाशित

mahendra_20140505080558_20140505061801वीरगन्ज, २१ पुस । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले वार्ता र संवादका माध्यमबाट नै मधेसको समस्या समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

तराई मधेसमा सञ्चारकर्मीले भोग्दै आएको समस्याको सम्बन्धमा बाराको सिमरामा आयोजित छलफल कार्यक्रममा अध्यक्ष विष्टले भन्नुभयो– “मधेसको समस्या राजनीतिक समस्या भएकाले यसलाई राजनीतिक रुपमै समाधान गर्न सक्नुपर्दछ र त्यो पनि वार्ता र संवादका माध्यमबाट गर्नुपर्दछ, यसमा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्दछ ।”

अध्यक्ष विष्टले लामो समयदेखि जारी मधेस आन्दोलन र सीमा नाकामा भइरहेको अवरोधका कारण आम नागरिकको दैनिक जनजीवन अस्तव्यस्त भएको छ, देशको अर्थतन्त्र चौपट बनेको छ, पत्रकार असुरक्षित हुनुपरेको छ भन्दै उहाँले मुलुकले थेग्नै नसक्ने यस्तो अवस्थाको चा“डो अन्त्यका लागि गम्भीर बन्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभयो ।

महासङ्घका सल्लाहकार एवम् पूर्वअध्यक्ष धर्मेन्द्र झाले मुलुकमा देखिएको राष्ट्रिय समस्या निकासका लागि विश्वव्यापी रुपमा पत्रकारलाई मध्यस्थता गर्ने अधिकार छ भन्दै अहिले हाम्रो मुलुकमा देखिएको आन्तरिक समस्याको निकासका लागि पनि पत्रकार वा सञ्चारसंस्थाले मध्यस्थताको भूमिका निर्वाह गर्नसक्नु पर्दछ भन्नुभयो ।

जनताको अधिकारका पक्षमा महासङ्घ सदैव क्रियाशील हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– “महासङ्घको मूल उद्देश्य र प्रतिष्ठामाथि आ“च आउने तथा महासङ्घलाई कमजोर बनाउने कुनै पनि कुरा हामीलाई स्वीकार्य हुँदैन ।”

सो अवसरमा महासङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्यमनि गौतम, महासङ्घका पूर्वउपाध्यक्ष गोविन्द आचार्य, महासङ्घका बारा र पर्साका अध्यक्षद्वय क्रमशः कमल उपाध्याय र श्याम बन्जारालगायतले सञ्चारकर्मीको पेसागत, भौतिक र सामाजिक सुरक्षाप्रति महासङ्घ गम्भीर हुनुपर्ने बताउनुभयो ।

बारा र पर्साका गरी दुई दर्जन सञ्चारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा सञ्चारकर्मीले भोग्नुपरेका समस्या र उपायबारे छलफल भएको थियो ।

प्रतिक्रिया