औषधिको अभाव

इनेप्लिज २०७२ पुष २१ गते ११:४५ मा प्रकाशित

Medicineमलेखु (धादिङ), २१ पुस । भूकम्पले गर्दा सास्ती खेप्न बाध्य धादिङबासी भारतीय नाकाबन्दीले गर्दा औषधि अभाव भोग्न थालेका छन् ।

जाडो समय सुरु भएसँगै अत्यावश्यक मात्रामा चाहिने औषधि नभएपछि जिल्लामा औषधिको अभाव भएको हो । जाडो समयमा अत्यावश्यक पर्ने एन्बिायोटिक तथा अन्य औषधि अभाव भएकाले स्वास्थ्य उपचारमा समेत प्रभाव परेको जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले जानकारी दिनुभयो ।

चिसोे बढेसँगै अत्याधिक मात्रामा चाहिने एमोक्सासिलिन, आँखामा राख्ने सिफ्रो, दमका रोगीका लागि अत्यावश्यक सालबिटामोल लगायत औषधिको चरम अभाव भएको हो । अहिले जिल्लाका स्वास्थ्य संस्थामा यी औषधि नभएपछि बिरामी समस्यामा परेको मल्लको भनाइ छ ।

शिशुलाई लगाइने बिसिजी खोप समेत अभाव भएकाले समस्या देखिएको छ । शिशुलाई स्वास्थ्य केन्द्रमा पहिलो पटक ल्याउनेबित्तिकै लगाइने सो खोप अभावले गर्दा समस्या आएको छ । खोप अभाव भएकाले शिशुलाई एक महिना बिराएर स्वास्थ्य संस्थाले लागाउने गरी मिलाइएको मल्लको भनाइ छ ।

सो खोपको एक भायलमा २० जनालाई दिन पुग्ने हुन्छ । तर खोलेको छ घन्टापछि लगाउन मिल्दैन । यसो गर्दा खोप खेर जाने भएकाले खोप सेवा व्यवस्थित गर्नका लागि व्यवस्थापन गरिएको हो । जिल्लाका भूकम्पपीडित बिरामी परेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य सेवा विभागले जिल्लाका विस्थापित शिविर लगायत स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया