सोमबार, साउन १८ २०७८
काठमाडौं १२:५१
वासिङटन डिसी 03:06

स्पेनको झझल्को दिने नेपाली बुल फाइट, तयारी तीब्र

इनेप्लिज २०७२ पुष १९ गते १८:५१ मा प्रकाशित

goru 4

पुस २०, काठमाडौं । तारुकाको पौरख नेपालीको गौरब भन्ने मुल नाराको साथ विगतका वर्षहरु झैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरुजात्रा प्रतियोगिताको आयोजना हुने भएको छ ।

माघे सक्रान्ति (माघ १)को अवसरमा हुने सो प्रतियोगिताको तयारी तीब्र रुपमा चलिरहेको आयोजकले जानकारी दिएको छ । आन्तरिक र बाह्य पर्यटकको साथै राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यममार्फत समेत उल्लेख्य ‘कभरेज’ पाइरहेको गोरु जुधाई प्रतियोगिताका लागि जनकराज ढुंगानाको अध्यक्षतामा ९ सदस्यीय माघेसक्रान्ति मेला व्यवस्थापन समितिको गठन भइसकेको छ । जसमा नेपाली कांग्रेस र एमालेका प्रतिनिधि रहेका छन् । विगतमा मेलाबारे राजनीतिक खिचनाती समेत हुने गरेको भएपनि यसर्ष भने सबै मिलेर मेलालाई व्यवस्थित बनाएर लैजाने समझदारी बनिसकेको छ ।

मेलालाई व्यवस्थित बनाएर लैजाने सहमति भएसँगै किसानहरुले प्रतियोगिताकै लागि भनेर पालेको गोरु दर्ता गर्ने क्रम सुरु गरिएको समितिका अध्यक्ष ढुंगानाले बताए । उनले गाविसको रोहबरमा भएको भेलामार्फत समिति बनेसँगै पुस २३ गतेभित्रै सबै गोरुको दर्ता गरिसक्ने कार्यतालिका रहेको बताए । समितिका अनुसार यसवर्ष तारुका ५चन्दनीस्थित कटरबोट पाटोमा१८ हल गोरु जुधाइने लक्ष्य छ । जसमा विजेता गोरुधनीलाई नगद र प्रमाणपत्र दिइने दिइने छ । यस्तै गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दाना सहित दुर्घटना बीमा समेतको व्यवस्था गरिने समितिका सचिव होमनाथ सिग्देलले जानकारी दिए ।

goru 1

गोरु दर्ता, बिमा, मेला व्यवस्थापना लगायतका कार्यका लागि ९ सदस्यीय अर्को उपसमिति समेत गठन गरिएको छ । स्थानीय राजनीतिक दल तथा गोरुधनीको तर्फबाट प्रतिनिधित्व गर्ने नारायणकाजी श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, दीपक तामाङ, कुमार श्रेष्ठ, डिल्ली ढुंगाना, रामजी अधिकारी, ठाकुर सिग्देल र लक्ष्मण प्रधान रहेको सो समिति गठन गरिएको अध्यक्ष ढुंगानाले जानकारी गराए ।

यसैगरि सञ्चारमाध्यमको सुविधाको लागि मिडिया सेन्टरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । यस्तै आवश्यकताअनुसार छोटो समयको लागि ‘होमस्टे’को समेत व्यवस्था गरिने छ ।भुकम्पको पीडा भुलाउने प्रयासगत बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि पनि उही जोशका साथ आयोजना हुँदैछ । तुलनात्मक रुपमा नुवाकोटका अन्य गाविसको तुलनामा कम मानविय क्षति भएपनि भौतिक रुपमा ध्वस्त भएको बस्तीका जनताको पीडालाई भुलाउँदै आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न प्रयास गरिने माघेसक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले जानकारी दिए ।

goru 3

‘बैशाख १२ गतेको विनाशकारी भुकम्पले अरु ठाउँजस्तै पनि तारुका प्रभावित बन्यो, तरपनि पीडालाई भुल्दै आफ्नो संस्कृतिलाई बचाउन लागिपरेका छौं’, ढुंगानाले रातोपाटीसँग भने, ‘ यसमा आम गोरुधनी, स्थानीयदेखि राजनीतिक दलसम्म एकजुट भएर लागि परेका छौं ।’ १४१५ घरधुरी मध्ये १४०१ घरधुरी भुकम्पले ध्वस्त भएको यस गाविसमा १ जना ले ज्यान गुमाउनु प¥यो भने आधा दर्जन सार्वसाधारण घाइते भएको गाउँ विकास समिति तारुकाका सचिव बालचन्द्र पुनले जानकारी दिए ।

पहिले अव्यवस्थित र प्रचारप्रसारको अभावमा स्थानीयस्तरमा यो प्रतियोगिता सीमित भएपनि पछिल्लो वर्षहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले स्थान दिन थालेपछि यसको महत्व ह्वात्तै बढेको छ । विसं २०६१ सालदेखि व्यवस्थित रुपमा जुधाइँदै आएको गोरुजुधाईले प्रतियोगिता हेर्नैको लागि आन्तरिक तथा बाह्य पर्यटकको समेत तारुकामा ओइरो लाग्ने गरेको छ ।

परापूर्वकालदेखि गोरु जुधाइँदै आइएकोमा यसलाई निरन्तरता दिँदै जानेक्रममा पछिल्लो समय त तारुका गोरु जुधाइने स्थानका रुपमा प्रसिद्ध बनेको र यसकै कारण आन्तरिक र बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको स्थानीय तथा एमाओवादी तारुका गाउँ पार्टी अध्यक्ष खिललाथ अधिकारीले जानकारी दिए । यद्यपी यसको उचित मार्केटिङ गर्न नसकिँदा पर्यात्य पर्यटकीय सम्भावना भएर पनि माघेसक्रान्ती बाहेक अन्य अवसरमा तारुका र यसआसपासका क्षेत्रमा पर्यटककलाई आकर्षित गर्न नसकिएको उनको बुझाई छ ।

goru 2

कसरी सुरु भयो परम्परा ?

प्रतियोगितका लागि हरेक वर्ष हजारौंंको संख्यामा दर्शक विभिन्न जिल्ला र देशबाहिरबाट समेत आउँछन् । यो संख्या वर्षेनी बढिरहेको स्थानीयको भनाइ छ । तथ्यांक राख्ने नगरे पनि तारुकामा दर्शकको भीड वर्षेनी बढ्दै गएको छ । यो प्रतियोगिताको सुरुवात कसरी भयो भन्ने यकिङ हुन नसकेपनि स्थानीय झण्डै २०० वर्ष अघि गोरु जुधाउने परम्पराको थालनी भएको विस्वास गर्छन् । तारुका बझाङी राजा जयपृथ्बीबहादुर सिंहको मामली रहेको उनी मामली आउँदा उनलाई मनोरञ्जन दिनका लागि गोरु जुधाएर देखाइएको स्थानीयको विस्वास छ । त्यही बेलादेखि गोरु जुधाउने प्रचलन बसेको बुढापाकाले बताएपनि पुष्टि गर्ने आधार भने अहिलेसम्म पाउन सकिएको छैन ।

पहिले तारुका आसपासका क्षेत्रहरु बुधसिङ, रातमाटे, दुईपिपल लगायत गाविसमा पनि गोरु जुधाउने चलन थियो । तर, अहिले त्यता जुधाइँदैन । बरु नुवाकोटको बेत्रावतीमा भने गोरु जुधाइने गरिन्छ । जुन यसवर्ष पनि जारी रहने बताइएको छ ।

कसरी जाने तारुका ?

काठमाडौं हुनेहरुले तारुका जानको लागि कलंकीहुँदै गल्छी–त्रिशूली सडकखण्ड प्रयोग गर्न सक्छन् । जुन सबैभन्दा छोटो छोटो रुट हो । यसो त पासाङलाह्मु राजमार्ग अन्तर्गतको काठमाडौं– पीपलटार देबिघाट हुँदै पनि तारुका पुग्न सकिन्छ । जहाँ पुग्न नीजि सवारी साधन नहुनेहरुलाई पनि कुनै चिन्ता छैन । किनकी पर्याप्त बस तथा माइक्रो बसहरु सञ्चालनमा छन् । यद्यपी पासाङल्हामु राजमार्गको प्रयोग गरेको खण्डमा भने पीपलटारबाट गल्छी त्रिशूली रुटमा चल्ने गाडी बढल्नुपर्छ । दुबै तर्फबाट बाहेक अन्य केहि रुटहरु समेत अस्तित्वमा रहेपनि त्यो त्यति सहज छैन ।

पोखरा चितवनतर्फबाट आउने दर्शकहरुको लागि भने गल्छी हुँदै तारुकाघाटतर्फ लाग्नुपर्ने हुन्छ । सो स्थानहरुबाट आउनेहरु गल्छीमा झरेर त्रिशूलीका लागि छुट्ने बस तथा माइक्रोमार्फत तारुका जान सक्छन् । बस तथा माइक्रोमा जानेहरुका लागि अन्तिम स्टेसन तारुका र रातमाटे गाविसको सीमाक्षेत्रमा पर्ने तारुकाघाट हो । जहाँबाट त्रिशूलीको झोलुंगे पुल तरेर झण्डै ८ किलो मिटरको यात्रा तय गर्नुपर्छ । त्रिशूलीको पुल तरिसकेपछि स्थानीयस्तरमा चल्ने गाडीहरु पाइन्छ । तर, एक हिँड्ने जाँगर भएकाहरुलाई भने सालघारीको जंगल हुँदै प्राकृतिक दृश्यावलोकन गर्दै उकालो चढ्नुको मज्जा लिन सकिन्छ ।

जसबाट एकै साथ गोरु जात्रा र हाइकिङको मज्जा लिन सकिन्छ । आफ्नै मोटरसाइकल भएकालाई झन् फाइदैफाइदा । कार्यक्रमस्थ नजिकै व्यवस्थित पाकिङको व्यवस्था समेत आयोजकले गरिदिएको छ । युरोपीयन मुलुक स्पेन लगायतका देशमा हुने चर्चित बुलफाइटको झझल्को दिने तारुकोको गोरु जुधाई प्रतियोगिताको व्यापक प्रचार र प्रशार गर्न सके आन्तरिक र बाह्य पर्यटनको गतिलो आधार बन्न सक्ने कतिपयको भनाई छ ।

प्रतिक्रिया