विराटनगर, १८ पुस । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अघोषित नाकाबन्दी र त्यसबाट सिर्जना भएको मानवीय सङ्कट चाँडै अन्त्य हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले समस्यालाई समाधान गर्न सरकारले ठोस प्रस्ताव सार्वजनिक गरेको र त्यसमाथि अनौपचारिक वार्ता जारी रहेकाले छिट्टै नै सरकारले औपचारिक वार्ताका लागि मिति तोक्ने जानकारी गराउनुभयो ।
उहाँले मधेसी मोर्चासँग वार्ताको माध्यमबाट असमझदारी र अन्यौलता हटिसकेकाले मुलुकले चाँडै निकास पाउने स्पष्ट पार्नुभयो ।
उहाँले राजनीतिक संयन्त्रको माध्यमबाट सीमाङ्कनको समस्या तीन महिनाको अवधिमा समाधान गर्न प्रतिवेदन तयारी गर्ने काम भइरहेको र राजनीतिक रुपमा समाधानका लागि मोर्चासँग वार्ता गरेर ठोस निष्कर्षमा पुग्ने उल्लेख गर्नु भयो ।
सञ्चारमन्त्री राईले भन्नुभयो – “मुलुकको समस्या समाधानका लागि सरकारले प्रस्तुत गरेको दृष्टिकोणप्रति भारत सरकारको सकारात्मक प्रतिक्रिया आएको र यसलाई सरकारले सकारात्मक रुपमा लिएको छ भने त्यसबाट सहज खालको वातावरण निर्माण भएको छ ।”
मन्त्रीमण्डल विस्तारको सन्दर्भमा पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो – “संविधान निर्माणमा सबै दलको योगदान प्रभावकारी रहेको र साना वा ठूला दलको कुरा नभई सबैको भूमिका महत्वपूर्ण रहेकाले मन्त्रीमण्डलको विस्तारलाई अन्यथा लिनुहुँदैन ।”
प्रतिक्रिया