लुलाङ र सिङ्गा स्वास्थ्य चौकीको भवन निर्माण

इनेप्लिज २०७२ पुष १८ गते ३:४४ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १८ पुस । म्याग्दीको लुलाङ र सिङ्गा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ ।

सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङले भूकम्प प्रतिरोधात्मक क्षमता भएको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । लुलाङ स्वास्थ्य चौकीको भवन रु एक करोड ५० लाख र सिङ्गा स्वास्थ्य चौकीको भवन रु एक करोड १५ लाखको लागतमा सम्पन्न भएको कार्यालयका इञ्जिनियर तेजेन्द्र पौडेलले बताउनुभयो ।

उन्नाइस वटा कोठा भएको नयाँ भवनमा १५ जनासम्म बिरामीलाई राखेर उपचार गर्नसक्ने क्षमता रहेको छ । दुई तले भवनमा इमरजेन्सी कक्ष, श्यया, प्रशासनिक कक्षका साथै कर्मचारीको आवास र तालिम हलको लागि छुट्टाछुट्टै कोठा रहेका छन् ।
नयाँ भवनबाट सेवा दिने तयारी गरिरहेको जिल्ला स्वास्थ्य प्रमुख चिकित्सक रोशन न्यौपानेले बताउनुभयो । अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित आव २०६८/६९ मा भवन निर्माण सुरु भएको थियो ।

सोही वर्ष सुरु भएको बेनी नगरपालिका–४ स्थित ज्यामरुककोट स्वास्थ्य चौकीको भवन निर्माणले अझै पूर्णता पाएको छैन ।

ठेकेदारको लापर्बाहीका कारणले भवन निर्माणमा ढिलाइ भएको इञ्जिनियर पौडेलले बताउनुभयो । उहाँका अनुसार आव २०६९७० मा निर्माण सुरु भएको बेनीस्थित जिल्ला स्वास्थ्य कार्यालयको भवन निर्माण पनि समयमै पूरा हुन सकेको छैन ।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत गत आवमा राम्चेको स्वास्थ्य चौकी र भगवतीमा आर्युवेद औषधालयको भवन निर्माण सुरु भएको थियो ।

यस वर्ष बिम, भगवती र देवीस्थानका साथै जिल्ला अस्पतालको ५० श्यया क्षमताको भवन निर्माण सुरु गर्ने तयारी भएको इञ्जिनियर पौडेलले बताउनुभयो ।

प्रतिक्रिया