जिल्लाभरि बालसंरक्षण अक्षयकोष स्थापना

इनेप्लिज २०७२ पुष १७ गते १:५० मा प्रकाशित

चौतारा, १७ पुस । बाबुआमा गुमाएका अनाथ बालबालिकाका लागि शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले बालसंरक्षण अक्षयकोषको स्थापना कार्य सिन्धुपाल्चोकको दुई नगरपालिका र सबै गाविसमा लक्ष्यभन्दा अगाडि नै पूरा भएको छ ।

सन् २०११ मा तीन गाविसबाट सुरु गरिएको उक्त कार्य सन् २०१७ सम्म जिल्लाभर अक्षयकोषको स्थापना गर्ने लक्ष्य रहे पनि सबैको सक्रियतामा २०१५ को अक्टोबरभित्रै सम्पन्न भएको जिविसले जनाएको छ ।

बाबु वा आमाविहीन एक बालबालिकालाई कोषको ब्याजबाट मासिक ३०० छात्रवृत्ति प्रदान गरी कक्षा १० सम्म अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । यसरी छात्रवृत्ति पाउनेमा हाल ३५९ बालक र ३५१ बालिकासहित ७१० जनाले सुविधा प्राप्त गरिसकेका छन् ।

प्रत्येक गाविसबाट आठ कोटा निर्धारण गरिएको र बाबु वा आमाविहीन बालबालिकालाई यस्तो सुविधा दिइनेछ । एउटै घरमा दुईजना भए सबैभन्दा सानोलाई प्राथमिकता दिई गाउँ बाल संरक्षण समितिको सिफारिसमा गाविसले छात्रवृत्ति प्रदान गर्ने प्रावधान रहेको छ । छात्रवृत्ति पाउनेले एउटै कक्षामा लगातार दुईपटकसम्म फेल भएमा, बीचमै पढाइ छाडेमा र विवाह गरी गएमा यस्तो सुविधा नपाइने जिविसका कार्यक्रम अधिकृत राजुभाइ श्रेष्ठले बताउनुभयो ।

आगामी दिनमा दुई नगरपालिकामा पनि वडास्तरमा यो कार्यक्रमलाई विस्तार गरिने लक्ष्य राखिएको स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिनुभयो । जिल्लामा दुई नगरपालिका र ६८ गाविस छन् । सुरुमा कालिका, ठोकर्पा र फुल्पिङकोटसहित तीन गाविसबाट सुरु गरिएको थियो । सुरुमा कोष स्थापनाका लागि जिविस र टुकी सङ्घ (सेभ द चिल्ड्रेन)ले प्रति गाविस एक लाख ५० हजारका दरले सहयोग उपलब्ध गराएको थियो । पछिल्लो वर्षदेखि गाविसको सङ्ख्यामा वृद्धि भई कोष स्थापनाका लागि गाविसले पनि रकम जम्मा गर्न थालेपछि हाल कोषमा रु दुई करोड ८१ लाख ४२ हजार जम्मा भइसकेको जिविसले जनाएको छ ।

प्रतिक्रिया