कलामा प्रधानमन्त्रीहरुका भाषण र मुहारचित्र

इनेप्लिज २०७२ पुष १६ गते १३:०७ मा प्रकाशित

काठमाडौँ, १६ पुस । मानिसको जीवनशैलीमा आएको परिवर्तन र प्रविधिले पारेको प्रभावलाई कलाकार र इन्जिनियरले कलात्मक रुपमा संयोजन गरी कला पस्केका छन् ।

कला र प्रविधिको संयोजनबाट तयार पारिएका कला नेपाल कला परिषद्मा देख्न पाइन्छ । ‘यन्त्र ४’ नाम दिइएको सो प्रदर्शनी आइतबारदेखि सुरु भएको हो । सो प्रदर्शनीको आयोजना सिद्धार्थ आर्टस् फाउन्डेसन, एजुकेसन इनिसिएटिभ, कारखाना र रोबोटिक एसोसिएसन अफ नेपालले गरेका हुन् ।

सो प्रदर्शनीमा कलाकार कविराज लामाको टोलीले ‘सर्वदलीय बैठक’ शीर्षकमा प्रस्तुत गरेको कला आकर्षणका रुपमा रहेको छ । नेपालका २०४६ साल यताका प्रधानमन्त्रीको मुहारचित्र मार्फत नेपालको राजनीतिक अवस्थालाई चित्रण गरिएको छ । हरेक प्रधानमन्त्रीको मुहारचित्र अगाडि पुगेपछि सेन्सरको कारण उनले बोलेको आवाज निस्कन्छ भने प्रकाशले व्यक्तित्वलाई कलात्मक रुपमा देखाउँछ । आफ्नो कलाका विषयमा लामा भन्नुहुन्छ “नेपालका २०४६ साल यताका सबै प्रधानमन्त्रीले देश बनाउने भाषण गरे तर देशको अवस्था उस्तै रह्यो, मैले कलामार्फत तिनै प्रधानमन्त्रीका भाषण र मुहारचित्रलाई संयोजन गरी प्रस्तुत गरेको छु, यसमा दर्शकहरु सबै प्रधानमन्त्रीको अगाडि जाँदा आवाजै आवाज सुन्न सकिन्छ, यो आवाजले निकास दिनेभन्दा पनि इरिटेसन क्रियट गर्छ र मैले यसलाई सर्वदलीय बैठक भनेर नाम राखेको छु ।” लामालाई इन्जिनियर रविराज खडका, पारस थापा मगर र प्रतीक बुढाथोकीले सघाउनुभएको छ ।

प्रदर्शनीमा सुजन डङ्गोल, सरन तण्डुकार, भूषण दुवालले ‘बि अ पाइलट अफ योर टाइम’ शीर्षकमा समयको परिवर्तनलाई देखाउनुभएको छ । आफ्नो कामका विषयमा कलाकार डंगोल भन्नुहुन्छ “उपभोक्तावादी संस्कृतिले मानव जीवनमा गहिरो प्रभाव पारेको छ, त्यस्तै मान्छेका असीमित आवश्यकता पूरा गर्न आफ्नो समय लगाउँछ तर उसले गर्न खोजेको काम गर्न सक्दैन, त्यो विषयलाई मैले देखाउने कोसिस गरेको छु ।”
विनिता बुद्धाचार्य र शर्मिला श्रेष्ठले ‘बाटाको साथी’ शीर्षकमा जुत्ता र चप्पलसँग मानवीय सम्बन्धलाई देखाउनुभएको छ । महेन्द्र खड्काले समयको परिवर्तनलाई भिडियो आर्टमार्फत देखाउनुभएको छ । दीपा श्रेष्ठले सांस्कृतिक विविधतालाई जुत्ताका माध्यमबाट प्रस्तुत गर्नुभएको छ । पवन जोशीले छातामा आधारित रहेर पुरानो र नयाँबीच संयोजन गरी तस्बिरमार्फत आफ्नो कला देखाउनुभएको छ । मनीष पौडेलले फोहोरमा पनि सुन्दरता हुन्छ भन्ने विषयलाई तस्बिरका माध्यमबाट देखाउनुभएको छ ।

किरण महर्जनले नेपाली राजनैतिक इतिहासलाई ‘साइन्स फिक्सन’मा रुपान्तरण गर्नुभएको छ । कलाकार सुवास तामाङ, मेख लिम्बू, सिर्जना राजबाहक र इन्जिनियर विनोद पङ्गेनीले सेन्सरबाट चल्ने सारङ्गीमार्फत गन्धर्व जाति र सारङ्गीलाई देखाउनुभएको छ । अमृत कार्की र पुजनले ‘मिमोसा प्लान्ट’ बाट प्रेरणा लिएर प्रविधिको मद्दतले कला प्रस्तुत गर्नुभएको छ । महिमा सिंह, अस्मिता अधिकारी र रोशन थापाले ‘शान्तिपोखरी’ को निर्माण गर्नुभएको छ । अर्का कलाकार प्रकाश रञ्जितले यन्त्रको छातामाथि भएको शोधमा आधारित रहेर प्रतिस्थापन कला पस्कनुभएको छ। त्यस्तै तीन बालबालिका श्रेयांश पराजुली, आरोग्य रिजाल र अभिनव खेम्का मिलेर छातालाई प्रयोग गरी ‘गृहकार्य’ शीर्षकमा भिडियो गेम तयार पारेका छन् ।
प्रदर्शनीका निरीक्षक निश्चल ओलीले भन्नुभयो, ‘यन्त्रका लागि कला, प्रविधि र विज्ञान चाहिँ मिश्रण हुने ठाउँ धेरै छन् तर कमी हाम्रो दृष्टिकोण र शिक्षामा रहेको छ । यो कमीको विषयलाई लिएर यन्त्रले कलाकार र इन्जिनियरसँग काम गर्दै आइरहेको छ । त्यही वार्षिक प्रगतिलाई प्रस्तुत गर्न यो प्रदर्शनी आयोजना गरिएको हो ।”
यन्त्र रचनात्मक व्यक्तित्व तथा प्रविधिविज्ञबीच सशक्त संवादको माध्यमबाट अन्तरसंवादात्मक सहकार्यलाई प्रोत्साहन गर्ने एक मञ्च हो । यसमार्फत दर्शकलाई कला र प्रविधिलाई चिनाउने कार्य गर्दै आएको ओलीले बताउनुभयो । प्रदर्शनी यही पुस २१ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया