पूर्वमा रासायनिक मलको अभाव छैन

इनेप्लिज २०७२ पुष १४ गते ३:२९ मा प्रकाशित

malविराटनगर, १४ पुस । पूर्वी क्षेत्रमा गहुँ खेतीका लागि किसानको मागअनुरुप मल उपलब्ध गराइएको छ ।

क्षेत्रीय कार्यालय विराटनगरले यस क्षेत्रका अधिकांश जिल्लाका डिपोलाई रासायनिक मल उपलब्ध गराएको र हड्तालबाट प्रभावित जिल्लामा वीरगन्जस्थित क्षेत्रीय कार्यालयमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएकाले पूर्वी क्षेत्रमा रासायनिक मलको अभाव नभएको हो ।

चार महिनादेखिको मधेसी मोर्चाको बन्द, हड्तालका कारण सीमावर्ती नाका प्रभावित भएपछि समयमै किसानले मल पाएका थिएनन् । परिस्थिति सहज भएपछि आवश्यकताअनुरुप मलको आपूर्ति भएको क्षेत्रीय कृषि सामग्री कम्पनीका प्रमुख अजय श्रीवास्तवले बताउनुभयो ।

कार्यालयले सम्बन्धित जिल्लाका डिपोमा मल वितरण गरेर मौज्दातका रुपमा ३६७ मेट्रिक टन युरिया, १४० मेट्रिक टन डिएपी र ३४१ मेट्रिक टन पोटास रहेको जनाएको छ ।

धनकुटामा २६७ मेट्रिक टन युरिया र १९ मेट्रिक टन पोटास, इलाममा २४ मेट्रिक टन युरिया र चार मेट्रिक टन डिएपी र इटहरीमा ३२० मेट्रिक टन युरिया, आठ मेट्रिक टन डिएपी र ३५ मेट्रिक टन पोटास मौज्दात रहेका छन् ।

मधेसी मोर्चाको बन्द हड्तालका कारण सप्तरी र सिरहा जिल्लामा विराटनगरस्थित क्षेत्रीय कार्यालयबाट मल ढुवानीमा कठिनाइ देखिएपछि वीरगन्जस्थित क्षेत्रीय कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको क्षेत्रीय प्रमुख श्रीवास्तवले जानकारी गराउनुभयो ।

सोअन्तर्गत, सप्तरीको राजविराज कार्यालयस्थित डिपोमा ५०० मेट्रिक टन डिएपी र २०० मेट्रिक टन युरिया उपलब्ध गराइएको छ । सोही अनुपातमा सिरहाको लहान कार्यालयस्थित डिपोमा पनि मलको व्यवस्था गरिएको छ । उदयपुरमा भने विराटनगरबाटै मलको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया