मंगलबार, साउन १२ २०७८
काठमाडौं ०५:५९
वासिङटन डिसी 20:14

साफ फुटबल: भारतसँग निर्णायक भिडन्त गर्दै नेपाल

इनेप्लिज २०७२ पुष १२ गते १२:५४ मा प्रकाशित

gn3_736883477काठमाडौँ, १२ पुस । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीच आज निर्णायक खेल हुँदैछ ।

भारतको केरलास्थित त्रिवेन्द्रममा आज साँझ ०६ः४५ बजे समूह ‘ए’को अन्तिम खेलमा नेपाल र भारत भेट हुँदा नेपालले स्पष्ट जितकै लागि खेल्नुपर्ने छ । बराबरी या हारले नेपालको यात्रा टुङ्गिने छ ।

पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित हुँदै उसलाई तीन अङ्क दिन पुग्यो । त्यस्तै भारतले श्रीलङ्कामाथि २–० को स्पष्ट नतिजा निकाल्दै समान तीन अङ्क जोडेर गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा छ ।

भारतसँग हारेपनि श्रीलङ्काको सेमिफाइनल पुग्ने सम्भावना भने जीवित छ । अर्कोतिर, पहिलो हारले नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ तर सकिएको छैन । अब नेपालले भारतलाई हराउँदा मात्र सेमिफाइनल यात्रा सुरक्षित छ । तर, प्रतियोगिताकै दाबेदार मानिएको टोली भारतलाई उसकै मैदानमा हराउन नेपाली खेलाडीले पुराना गल्ती सुधार्दै शतप्रतिशत तागत लगाएर खेल्न जरुरी छ । भारत प्रतियोगिताको सर्वाधिक सफल टोली हो । एघारौं संस्करण खेल्नुअघि नै भारतले छ पटक साफ च्याम्पियनसिप आफ्नो पोल्टामा पारिसकेको छ भने नेपाल पहिलो उपाधिको खोजीमा छ ।

‘हेड टे हेड म्याच’मा पनि भारत नेपालभन्दा अघि छ । अहिलेसम्म यी दुई टोलीको १४ पटक भेट भएको छ जसमा १० पटक भारतले जित हासिल गरेको छ । त्यस्तै, नेपालले तीन खेलमा भारतलाई हराएको छ भने एक खेल बराबरीमा टुङ्गिएको छ । दुई वर्षअघि, घरमै भएको प्रतियोगिताको समूह चरणको खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । तसर्थ, सेमिफाइनल सुरक्षित राख्न नेपालले यही खेलको अतित ग्रहण गर्दै भारतबिरुद्ध मैदानमा उत्रनुपर्ने हुन्छ ।

यसअघि, श्रीलङ्कासँग अधिकांश समय खेल नियन्त्रणमा लिएपनि नेपालले अतिरिक्त समयमा आफ्नै गल्तीमा गोल खाएको थियो । गल्ती सुधार्दै नेपालले भारतविरुद्धको अन्तिम खेल जितेमा तीनै टोलीको समान तीन अङ्क हुनेछ । त्यस्तो अवस्थामा गोलअन्तरका आधारमा सेमिफाइनल पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया