बुधबार, साउन २० २०७८
काठमाडौं ०५:५४
वासिङटन डिसी 20:09

दुई वर्षमा एक नम्बरको पार्टी बनाउँछु: प्रचण्ड

इनेप्लिज २०७२ पुष १२ गते १२:४९ मा प्रकाशित

prachanda-babu1विराटनगर, १२ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान विश्वको उत्कृष्ट संविधानमध्ये एक रहेको बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी) मोरङको १४औँ जिल्ला सम्मेलनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले मधेसी, थारुलगायत समुदायको जायज माग संविधानमा समावेश गर्न वार्ता जारी रहेको बताउनुभयो ।

सङ्घीय संविधान जारी भएपछि मुलुकमा सामन्तवादको अन्त्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सामन्तवादका अवशेषलाई समाप्त पार्न अग्रसर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक अप्ठ्यारो अवस्थामा रहेको समयमा हजारौँ सहिद, बेपता र सहिद परिवारलाई सम्झेर तेस्रो पार्टी भए पनि नेतृत्वदायी भूमिका खेलेर संविधान जारी गरिएको बताउनुभयो ।

पार्टीलाई दुई वर्षको अवधिमा एक नम्बरको पार्टी बनाउने उद्घोष गर्दै अध्यक्ष दाहालले यसका लागि विद्यार्थीको पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टी पुनःनिर्माणका लागि आउँदो १५ गतेदेखि अभियान सुरु गर्ने जानकारी गराउनुभयो ।

उहाँले समाजवादी क्रान्तिलाई नयाँ उत्साहका अगाडि बढाउने र आर्थिक क्रान्तिमार्फत मुलुकलाई आत्मनिर्भर बनाउन एकजुट भएर लाग्नुपर्ने धारणा प्रकट गर्नुभयो । नाकाबन्दी चाँडै अन्त्य हुने उल्लेख गर्दै अध्यक्ष दाहालले अब देशलाई आत्मनिर्भर बनाउन आफ्नै खनिज पदार्थ उत्खनन् गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया