बालविवाह न्यूनीकरण अभियान गाउँ केन्द्रित

इनेप्लिज २०७२ पुष ११ गते ४:५५ मा प्रकाशित

बैतडी, ११ पुस । बैतडीमा बालविवाह न्यूनीकरणका लागि १० वटा गाविसमा कार्यक्रम केन्द्रित हुने भएको छ । पहिलो चरणमा १० वटा गाविसलाई बालविवाहमुक्त घोषणाका लागि पहल गरिने महिला तथा बालबालिका कार्यालय पाटन बैतडीले जनाएको छ ।

यो वर्ष सिद्धेश्वर गाविसलाई बालविवाहमुक्त घोषणा गर्ने र अरु गाविसलाई बालविवाहमुक्त घोषणाका लागि प्रयास गर्दै जाने सो कार्यालयका प्रमुख बिष्ना भण्डारीले बताउनुभयो ।

बालविवाहले महिलाको समग्र जीवनमा पार्ने प्रभावका बारेमा स्वयम् किशोरकिशोरीलाई जानकारी गराएर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिने जानकारी संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले दिनुभयो ।

दशरथचन्द नगरपालिकाका देहीमाण्डाँै, गुरुखोला, हटैराज, रीम, सित्तड, रौलेश्वर, सिद्धपुर, सिद्धेश्वर, हटैराज र भौनेली गाविसमा बालविवाह न्यूनीकरणका कार्यक्रम केन्द्रित हुने उहाँले बताउनुभयो ।

ती गाविसमा सचेतीकरणका कार्यक्रम सञ्चालन गर्नका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय र महिला तथा बालबालिका कार्यालयमार्फत सहयोग गर्ने जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया