मेरो अनुभवमा जीवन

इनेप्लिज २०७२ पुष १० गते २२:२५ मा प्रकाशित
Bishnu 4 (1)
 भगवान बुद्धले भनेका छन की, संसारमा तिन कुरा लुकाउन सकिदैन। चन्द्र, सुर्य र सत्य, चन्द्र र सुर्य कसैले लुकाउँ सकिदैन यो प्रष्ट छ त्यस्तै जीवनका अनुभवहरु एक सत्य किताब रहेछ यसलाई पनि लुकाउँन सकिदो रहेनछ। हामीले अरु प्रति जस्तो व्यवहार गर्छौ त्यो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एक दिन आफैमा फर्किन्छ। यो मेरो जीवनको एक सत्य अनुभव हो। हामी जो कोहीको जीवनमा यो सत्य खेल भैरहेको हुन्छ तर हामीले ख्याल राख्नु वा नराख्नु तथा बुझ्न सक्नु वा नसक्नुमा फरक पर्ला। अर्को कुरा हामी सबैले सधै सुन्दै र भन्दै आईरहेको कुरा हो, जीवन एक फूल हो वा जीवन संघर्षमय छ वा जीवन जिउँन धेरै गाह्रो छ तर सत्य यो रहेछ की तपाईले जीवनलाई कसरि हेर्नुहुन्छ त्यहिँ देख्नुहुन्छ। गाह्रो भनेर जीवन जिउँन सजिलो हुने हैनरहेछ, संघर्षमय भनेर जीवनलाई सधै कठिन बनाउँनु भन्दा जीवन एक सुनौलो यात्रा रहेछ जसको कहिल्यै अन्त्य हुदोरहेंनछ। यो मेरो एक सत्य बुझाई हो।
मेरी छोरी शिरीषले मलाई किताबहरु पठाउने क्रममा रूम टु रीड का संस्थापक जोन वॊडको “माईक्रोसफ्ट देखि बाहुन डाँडा सम्म” भन्ने किताब पठाई दिएकी थीइन। त्यो किताबको बारेमा छोरीले निकै चर्चा गरिन मैले के तिमीले यो किताब पढिसकेको हौ छोरी? भन्दा उनले नपढेको तर किताब पसलेले बयान गरेको बताईन। मैले त्यो किताब पढ्ने प्रयास धेरै नै गर्दा पनि मन लागेन तर एक दिन नेपाली बि बि सीमा जोन वॊडको अन्तर्वार्तामा उसलाई सोधेको प्रसं थियो की यस सामाजिक कार्यमा लाग्दा तपाईको केटिसाथिले तपाईलाई छोडी दियो रे हैन? उसको जवाफ थियो उसले छाडेकी हैन बश हामी दुईको हिड्ने बाटो फरक भयो यो भन्दा राम्रो होला त्यसपछि त्यो किताबको एक एक पन्नामा मेरो ध्यान केन्द्रित रह्यो।
पढ्ने क्रममा मेरो आँखाबाट भावानाका आँसु अनायास बगेछ। साँच्चै जोन वॊडले जस्तै जीवनको सत्य अनुभव नेपाली पुरुषहरुले पनि बाड्ने हो भने नेपाली नारीलाई एक भगवान वा देवीको रुपमा हैन एक मानवको रुपमा व्यवाहार गर्न सक्थे। उसले किशोरीहरुलाई शिक्षित बनाउन बढी प्राथमिकता दिनुको कारण उसको जीवन दुई व्यक्तिहरुको योगदानले बनेको थियो। उसको आमा र दिदि त्यसैले जोन वॊडको दर्शन छ संसारबाट गरिबी हटाउनुको एक मात्र उपाय महिलालाई शिक्षित बनाउनु हो। जोन वॊडको पार्थिक शरीर एक दिन यस धर्तीबाट जाला तर उसको जीवनको सत्य किताब कहिल्यै मर्नेछैन।

अमेरिकामा आएको पनि एक दशक नै भएछ। यस दशक भित्र नेपाल तथा अमेरिकामा धेरै परिबर्तनहरु भए त्यस्तै मेरो जीवनमा पनि धेरै परिबर्तन आए, चाहेर वा नचाहेर परिवर्तन हुनु प्राकृतिक नियम हो तर त्यस परिबर्तनलाई लिन सक्ने तरिकाले जीवन जिउँने तरिकामा फरक पार्दोरहेछ। त्यसले जीवनको यात्राको बाटो पनि तय गर्दोरहेछ जस्तो मलाई लाग्छ। हामी महान ब्यक्रिहरुको जीवनी पढ्न धेरै रुचि राख्छौ तर आफ्नो सत्य किताब भने पल्टाउँन जमर्को पनि गर्दैनौ किनकी हामी आफुमा भन्दा अरुमा विश्वास राख्छौ तर यो एक सत्य हो की जब सम्म आफैलाई विश्वास, माया र ईज्जत गर्न सक्दैन तब सम्म अरु कसैले तपाईलाई विश्वास, माया र ईज्जत कहिल्यै गर्दैन।

नयाँ सालसँगै जीवनमा नयाँ उमङ्ग ल्याउदा जीवन रमाईलो हुदोरहेछ २०१५ सालको मेरो उमङ्ग थियो अप्रेसन पछि बढेको मेरो तौल घटाउनु त्यो मैले पुरा गरे। त्यसपछि अर्को उमङ्ग थियो छोराको आफ्नै ईश्टमित्र भित्रको केटीसँग ईन्गेजमेन्ट भएको थियो त्यसलाई बिबाहमा परिणत गर्ने तर केटा र केटी बीच मन बिचार नमिल्ने कुरा बुझे र बिबाह नगर्ने निधो गरे जसले त्यो सपना पुरा हुन सकेन। यता छोरी शिरीषले आफ्नो मनबिचार मिल्ने जीवनसाथी रोजेर बिबाह गरिन सोचे जस्तो चाहे जस्तो जवाईसँग जसले मेरो जीवनमा नयाँ उमङ्ग भर्ना कुनै कसुर नै राखेन। हाम्रा छोराछोरीले हाम्रो दाम्पत्तिलाई आमाबाबु हुनुको गर्व दिएकोमा हामी भाग्यमानी ठान्दछौ। अब २०१६ साल देखि मैले मेरो जीवनको सत्य किताबका पन्नाहरु पल्टाएर संसारलाई बाड्ने  सोच लिएकी छु त्यसको साथसाथै संसार बदल्ने मेरो जीवन यात्राको शुरुवात गर्नेछु जुन यात्राको मेरो अनुभवमा जीवनलाई बुझ्नेछु।

प्रतिक्रिया