शुक्रबार, साउन १५ २०७८
काठमाडौं ११:५२
वासिङटन डिसी 02:07

महिला फुटबल प्रतियोगिताः एपिएफ र आर्मी अन्तिम चरणमा

इनेप्लिज २०७२ पुष १० गते २०:२२ मा प्रकाशित

Jyapu-Dibas-1

काठमाडौँ, १० पुस । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम चरणमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मी क्लब प्रवेश गरेका छन् । भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको आज भएको सेमिफाइनल खेलमा एपिएफले नेपाल प्रहरी क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । एपिएफको जितमा सावित्रा भण्डारी र अनु लामाले गोल गरे । भण्डारीले खेलको तेस्रो मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् भने लामाले खेलको ११७ औँ मिनेटमा एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् । त्यस्तै प्रहरीकी खिमकुमारी गुरुङले खेलको पहिलो हाफको २१औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए पनि पछि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य बनेको थियो । खेलको निर्धारित समयसम्म दुवै टोलीबीच खेल एक एक गोलको बराबरीमा टुङ्गिएपछि पुनः आधा घन्टाको समय थप गरिएको थियो । त्यसैगरी सोही स्थानमा आजै भएको अर्को सेमिफाइनल खेलमा आर्मी मध्यमाञ्चल महिला फुटबल टोलीलाई ४–० गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । आर्मीका लागि दीपासिंह क्षेत्रीले खेलको १५ औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै अञ्जली वाइवाले खेलको ३५, शर्मिला थापाले ५३ र इन्दिरा राईले खेलको ८५औँ मिनेटमा एक एक गोल थपे । नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा विजेता टोलीले रु तीन लाख तथा उपविजेता टोलीले रु एक लाख पाउने छन् । त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले समान रु ५०÷५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीले यामाहा कम्पनीको एक थान स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम खेल भने यही पुस १२ गते हुनेछ । रासस

प्रतिक्रिया