राष्ट्रपतिले पशुपतिमा राष्ट्रकल्याणको सङ्कल्पले विशेष पूजा गर्नुहुने

इनेप्लिज २०७२ पुष १० गते १३:०६ मा प्रकाशित

bidhya-bhandariकाठमाडौँ, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याणको कामना गर्दै पुस १३ गते बिहान ९:३० बजे सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुहुने भएको छ ।

मुलुकमा भइरहेको सङ्कटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा गर्ने कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

“राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुहुनेछ, बिहान ९:३० बजे पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम तय भएको छ”–सदस्यसचिव डा टन्डनले भन्नुभयो ।

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचन र स्थानीयवासीले धिमेबाजा एवम् बाँसुरी वादनले उहाँको स्वागत गर्ने कार्यक्रम तय भएको कोषले जनाएको छ । पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घन्टा पशुपति परिसरमा बिताउनुहुनेछ ।

राष्ट्रपति निर्वाचित भएपछि भण्डारीको यो पहिलो पशुपतिनाथमा पूजा एवम् दर्शन हुनेछ ।

प्रतिक्रिया