एमाओवादीले प्रदेश समितिका प्रशिक्षण र बैठक गर्ने

इनेप्लिज २०७२ पुष ९ गते १३:४४ मा प्रकाशित

काठमाडौँ, ९ पुस । एकीकृत नेकपा(माओवादी)ले संवैधानिक प्रावधानअनुसार सात प्रदेशको बैठक तथा प्रशिक्षण गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले सात प्रदेशमा प्रदेश समितिको बैठक एवम् प्रशिक्षणको कार्यक्रम तय गरेको हो ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार यही पुस १५ गतेदेखि ३० गतेसम्म ७ वटै प्रदेशको बैठक एवम् प्रशिक्षण सक्ने निर्णय गरिएको हो ।

उहाँले यही पुस १५ गते ३ नं प्रदेशको काठमाडौँमा, पुस १८ गते १ नं प्रदेशको इटहरीमा, पुस २० गते २ नं क्षेत्रको बर्दिवासमा, पुस २२ गते ४ नं प्रदेशको पोखरामा, पुस २५ गते ५ नं प्रदेशको दाङमा, पुस २८ गते ६ नं प्रदेशको सुर्खेतमा र पुस ३० गते ७ नं प्रदेशको धनगढीमा प्रदेश समितिको बैठक एवम् प्रशिक्षण गर्ने कार्यतालिका तय गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी पूर्व घोषित केन्द्रीय परिषद्को बैठक स्थगित गरिएको प्रवक्ता शर्माले बताउनुभयो । त्यसैगरी बैठकले प्रदेश नं १ मा हिमाल राई र प्रदेश नं ३ मा नारायण दाहाललाई प्रदेश सचिवमा नियुक्त गरेको छ ।

स्थायी समितिको बैठकले यही पुस ११ गते अर्थात् २६ डिसेम्बर चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको जन्म दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ ।

त्यसैगरी आगामी फागुन १ गते विशेष कार्यक्रमको आयोजना गरी जनयुद्धको २०औँ वार्षिकोत्सव मनाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया