आइतबार, साउन १० २०७८
काठमाडौं १४:५७
वासिङटन डिसी 05:12

एकै परिवारका चार सन्तान अपाङ्ग, पीडामा तामाङ परिवार

इनेप्लिज २०७२ पुष ९ गते १२:५७ मा प्रकाशित

Rss_Images_1450929726383_JB-Panchthar-Apanga Pariwar

पाँचथर, ९ पुस । २२ वर्षको लक्का जवानीमा वैवाहिक बन्धनमा बाँधिदा पाँचथर इम्बुङ–७ कोल्बुङका हर्कवीर तामाङले पनि जीवनका सुनौला सपना देख्नुभएको थियो ।

सन्तान प्राप्ति र त्यसपछिको अपूर्व आनन्दको कल्पना गरेर रोमाञ्चित बन्नुभएको थियो । तर तामाङको त्यो सुनौलो सपना त्यतिबेला घोर शून्यतामा बिलायो, जतिबेला एकपछि अर्को गर्दै आफ्ना चार सन्तान गम्भीर अपाङ्गताको सिकार हुनपुगे । अपाङ्गता हुनुको चरम पीडामा पिल्सिएको तामाङ परिवारले भोग्नु परेको पीडा साँच्चै मर्मस्पर्शी र कारुणिक छ ।

तामाङका जेठा छोरा खड्क बहादुरले जीवनका ३७ बसन्त पार गरे तर २५ वर्ष भयो उनको जीवन ओछ्यानमै बितिरहेको छ । एक पाइला सर्न पनि सहयोगीको आवश्यकता पर्ने खड्कका लागि ओछ्यानमै राखिएका छन् दुईवटा बट्टा । त्यसैमा दिसा–पिसाब गर्छन् खड्क । त्यसलाई पनि अरूले नै व्यवस्थापन गरिदिनुपर्छ । खड्ककी बहिनी शिरमाया २१ वर्ष पुगिन् । झनै कारुणिक छ शिरमायाको कथा । तीन वर्षको हुँदादेखि दाजुकै नियति भोगिरहेकी उनी दिसा आएको त चाल पाउँछिन् तर पिसाब आएको चाल पाउँदिनन् । उनको पिसाब तर्काउन उनी सुत्ने–बस्ने ओछ्यानमा प्लास्टिक ओछ्याइएको छ ।

खड्कका साइला भाइ महेन्द्र २२ र कान्छी बहिनी तारा १७ पनि मुस्किलले बाहिर–भित्र मात्र गर्न सक्छन् । महेन्द्र शौचालय बसेपछि आफँै उठ्न सक्दैनन् । महेन्द्रको तुलनामा तारा केही सबल छिन् । तर उनीहरुको पनि हात–खुट्टा सुक्दै जाने क्रम बढेर गएको छ, जस्तो खड्क र शिरमायाको अवस्था छ । “यिनीहरु पनि बिस्तारै हामी जस्तै हुन्छन् होला सर”, खड्कले भन्नुभयो, “पहिलेभन्दा धेरै कमजोर भइसकेका छन्, कान्छा भाइ बद्रीको पनि हात–खुट्टा सुक्न थालेको छ, सर !” आफ्ना चार सन्तानको यस्तो अवस्था भएपछि बाबु हर्कवीरले १७ वर्षअघि मानसिक सन्तुलन गुमाए । हर्कवीर छिनमै राम्ररी कुराकानी गर्छन् छिनमै असामान्य बन्न पुग्छन् । हर्कवीरका ६३ वर्षीया श्रीमती धनमाया, माइला छोरा कृष्ण र कान्छा बद्रीले सिङ्गो परिवार धानिरहेका छन् जसोतसो । “दुईजना दिदी साङ्ग छन्, उनीहरु बिहे गरेर गइसके”, महेन्द्रले भन्नुभयो ।

छोरा–छोरीको उपचारका लागि हर्कवीर र धनमायाले प्रशस्तै धामीझाँक्री लगाए तर उनीहरुको स्वास्थ्यमा सुधार आउनुको साटो झन् थलिँदै गए । २०५५ सालमा सदरमुकाम फिदिममा स्वास्थ्य शिविर आउँदा हर्कवीरले डोकोमा बोकेर फिदिम पु¥याए खड्कलाई । त्यतिबेला थाहा भो उनलाई पोलियो रोग लागेको रहेछ । “अनि मात्र थाहा भो सर, हामीलाई पोलियो लागेको रहेछ, नेपालमा यसको उपचार हुँदैन भने डाक्टरहरुले”, निरास हुँदै खड्कले भन्नुभयो, “आफ्नो र भाइबहिनीको रोगको उपचार नहुने थाहा भएपछि भाग्यमा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाएँ ।” खड्कलाई सम्झना छ, कक्षा–५ सम्म राम्ररी स्कूल धाएका थिए । “बिस्तारै बिरामले च्याप्दै लग्यो । जसोतसो ८ पाससम्म गरेँ, त्यसपछि स्कूल जान सकिन, पढ्ने रहर त्यसै तुहियो सर”, उहाँले भन्नुभयो ।

आफूहरु अपाङ्ग भएकै कारण समाजबाट समेत अपहेलित हुनु परेको महेन्द्रले बताउनुभयो । “हाम्रो जग्गा जम्मा पाँच रोपनी छ, त्यो पनि पाखा भित्ता मात्र”, महेन्द्रले दुखेसो पोख्नुभयो, “अस्तिको दसैँमा आमाले गाउँलेसित चार माना चामल सापटी माग्दा तिमीहरुको धान फल्ने खेतै छैन, सबै काम गर्न नसक्ने मात्र छौ के गरेर तिर्छौ ? भनेर दिएनछन् ।”

“आमा अब धेरै वर्ष बाँच्दिनन्, भाइहरुले आ–आफ्नै घरबार बसाएर गएपछि बिजोग भइएला भन्ने चिन्ता छ सर”, खड्कले कारुणिक स्वरमा भन्नुभयो । अरूको समस्या पनि खड्ककै जस्तो भएकोले सबैलाई पोलियो रोग लागेको शङ्का गरेका उनीहरुले राम्रो अस्पतालमा गएर स्वास्थ्य परीक्षणसमेत गरेका छैनन् । बिहान–बेलुका हातमुख जोड्नै ठूलो समस्या रहेकाले हालसम्म स्वास्थ्य परीक्षण गर्न नसकेको उनीहरुको भनाइ छ । “आफँै जाने त अवस्था नै छैन, यसबारे कसैले पहल गरिदिए स्वास्थ्य परीक्षण गर्न जाने थियौँ”, महेन्द्रले भन्नुभयो ।

उनीहरु राज्यबाट प्राप्त हुने सेवा–सुविधाको उपभोग गर्नबाटसमेत वञ्चित छन् । एक पाइला पनि हिँड्न नसक्ने शिरमायाको अहिलेसम्म नागरिकता नै बनेको छैन रे ! शिरमायाले अहिलेसम्म राज्यका तर्फबाट पाउनुपर्ने कुनै किसिमको सेवा–सुविधा पाएकी छैनन् भने उस्तै अवस्थाका खड्कले भने गत साउन महिनादेखि मासिक एक हजार भत्ता पाउँदैछन् । यसबारे अपाङ्ग सेवा सङ्घ पाँचथरमा पटक–पटक फोन गरे पनि सङ्घले आफूहरुको पीडा बुझ्न नचाहेको खड्कले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घका अध्यक्ष नवीन ढुङ्गेलले तपाईंहरुको गाविसमा बजेट छुटिन्छ हामी पनि त्यही बजेटमार्फत तपाईंहरुकोमा आउने हो त्यसपछि तपाईंहरुले पाउनुपर्ने सेवा–सुविधा पाउनुहुन्छ भनेको छ तर आजसम्म आएका छैनन् ।”

आश्वासन मात्र दिए नेताले

तामाङ परिवारलाई भेट्न विभिन्न पार्टीका केन्द्रीय तहका नेताहरु समेत पुग्ने गरेका रहेछन् । तर नेताहरुबाट आफूहरुले आश्वासन मात्र पाएको तामाङ परिवारको गुनासो छ । नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहेका संसद्को उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्थापन समितिका सभापति तथा पाँचथर क्षेत्र नं २ का सांसद भीष्मराज आङदेम्बेले तामाङ परिवारलाई भेटेको रहेछ ।

त्यस्तै, नेकपा (माले)का केन्द्रीय सदस्य तथा सभासद् आइन्द्रसुन्दर नेम्बाङ (जो इम्बुङवासी नै हुन्) ले पनि उनीहरुलाई भेट्न आएको आएको खड्कले बताउनुभयो । “हामीलाई भोट दिनु हामी तपाईंहरुको समस्या बुझ्छौँ भनेका थिए, भोट पनि दियौँ तर जितेर गएपछि बिर्सिए”, खड्कले गुनासो पोखे । उहाँले थप्नुभयो, “अस्ति भूकम्प आउँदा हाम्रो घर चर्कियो र फोन गरेँ तर गाविसमा बुझ्नु भनेर जवाफ आयो ।”

त्यस्तै, पूर्व सभासद् तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले पनि आफूलाई भेटेर पाँचसय रुपैयाँ दिएको खड्कले बताउनुभयो । सबै नेताले आश्वासन दिएको खड्कको भनाइ छ । तर पनि खड्कले ती नेताहरुसँग आशा भने मारेका छैनन् । “मिलाउँदै होलान्, हाम्रो लागि केही गर्छन् भन्ने आशा मरेको छैन ।”

प्रतिक्रिया