बिहीबार, साउन १४ २०७८
काठमाडौं ०१:०९
वासिङटन डिसी 15:24

गच्छदारले बिर्सिए सन्यासको कुरा

इनेप्लिज २०७२ पुष ९ गते १:५६ मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACYलक्ष्मी काफ्ले
झापा, ९ पुस । ‘यो पुलको शिलान्यास मैले गरेको छु । अबको तीन वर्षभित्रमा यो पुल बनेन भने म राजनीति नै गर्दिनँ,’ बि.सं २०६६ सालमा मेची पुलको शिलान्यास गर्दै तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले यसो भनेका थिए ।

उनले जनतासँग प्रतिवद्धदा जनाएको ६ वर्ष पूरा भयो तर, पुल बनेन । तीन वर्षभित्र पुल नबने राजनीतिबाटै सन्यास लिने भन्दै भाषण गरेका गच्छदार त्यसपछि पनि पटक–पटक मन्त्री बने । सरकारमा जान भनेपछि हुरुक्क हुने गच्छदार अहिले पनि उपप्रधानमन्त्री छन् । तीन वर्षमा सम्पन्न गराएरै छाड्ने प्रतिबद्धताका साथ गच्छदारले सुरु गराएको पुल निर्माणकार्य अहिले सरकारकै लापरबाहीका कारण अलपत्र परेको छ ।

निर्माणकार्य सुरु भएको छ वर्ष बित्दा आधा पनि काम पूरा हुन सकेको छैन । झापाको सदरमुकाम भद्रपुरलाई भारतको बिहार राज्य अन्तर्गत गलगलिया नाकासंँग जोड्ने पुलको निर्माणकार्य २०६६ माघ २१ गतेबाट सुरु भएको थियो ।

नेपाललाई बङ्गलादेशसँंग जोड्न छोटो दुरीमासमेत योगदान पुर्याउने यो पुल निर्माण ढिलाई हुनुमा निर्माणस्थल खाली गर्न सरकार असक्षम हुनु, वर्षातमा काम गर्न नसक्नु तथा पछिल्लो समय भारतीय नाकाबन्दीले पेट्रोलिम पदार्थ नपाइनु मुख्य समस्या भएको निर्माण कम्पनीको भनाइ छ ।

५६० मिटर लम्बाइ तथा १० मिटर चौडाइ रहेको यो पुलको १७ वटा पिलर रहेका छन् । जसमध्ये १५ वटा पिलरको जमिनमुनिको काम पूरा भए पनि दुईवटा पिलरको काम अहिलेसम्म आधा पनि हुन सकेको छैन । हुलाकी लोकमार्ग परियोजना अन्तर्गत भारतसँग जोड्ने पहिलो पुलका रुपमा निर्माण आरम्भ भएको यस पुलको एक नम्बर पिलर पूरा नभएसम्म काम भएको अनुभूति हुन नसक्ने स्थानीयबासी बताउँछन् ।

यस पुलबाट बङ्गलादेशको फूलवारी बन्दर्गाह पुग्न १५ किलोमिटर मात्र दुरी पार गर्नुपर्ने भएकाले नेपालको बङ्गलादेशसँगको व्यापारमा सहज एवम कम लागत लाग्ने स्थानीय व्यवसायी पर्शुराम अग्रवाल बताउँछन् ।

अनक सूर्य एण्ड सन्सका लेखापाल प्रमोद कर्णको भनाइ अनुसार वर्षातमा अन्य पिलरको काम रोकिए पनि एक नम्बर पिलरको काम गर्न पानीको बाधा हुँदैन । तर पनि पटक–पटक सरकार तथा स्थानीय प्रशासनसँग सुकुम्बासी हटाइदिन माग गर्दा ढिलासुस्ती भएको उनी बताउँछन् ।

पुल निर्माणका लागि स्थानीयबासीले विसं २००९ सालदेखि सङ्घर्ष गरिरहेका छन् । त्यसको पाँच दशकपछि ३७ करोड ३६ लाख ५० हजार लागतमा निर्माण आरम्भ भएको यो पुलको निर्माणकार्य पूरा हुने अवधि अनिश्चित भएसँगै पूर्व पश्चिम जोड्ने हुलाकी मार्गको पूर्वी ट्र्याक खुल्ने आधार पनि अन्योलमा परेको छ । पछिल्लो सम्झौता अनुसार २०७३ बैशाखमा पुल निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने भए पनि यस वर्ष अहिलेसम्म काम थालनी हुन नसकेकाले अर्को एक वर्ष थप गरेर काम पूरा गर्ने निर्माण कम्पनीले जनाउँदै आएको छ ।

निर्माण कम्पनिले काम द्रुत गतिमा भइरहेको दावी गरेपनि स्थलगत रुपमा हेर्दा काममा भइरहेको ढिलासुस्तीले अबको एक वर्षभित्रमा पनि काम पूरा हुनेमा अवस्था नरहेको स्थानीयवासीको भनाइ छ ।

DSCN7677

प्रतिक्रिया