लोकतान्त्रिक संविधान कार्यान्वयनमा राष्ट्रपतिको जोड

इनेप्लिज २०७२ पुष ८ गते १३:२८ मा प्रकाशित

bidhyaभोजपुर, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक विधिबाट मुलुकको संविधान लेख्ने नेपाली जनताको चाहना पूरा भएको पृष्ठभूमिमा अब त्यसलाई कार्यान्वयनमा लाने मुख्य दायित्व राष्ट्रको भएको बताउनुभएको छ ।

आफूले अध्ययन गरेको भोजपुर बहुमुखी क्याम्पसको स्वर्णमहोत्सवको उद्घाटन गर्न यहाँ आउनुभएका राष्ट्रपति भण्डारीले अभाव र सङ्कटबाट पाठ सिकेर देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अधिकांश नेपाली गरिबी, अशिक्षा, रोग र भोकबाट पीडित रहेको बताउँदै उहाँले भन्नुभयो – “हामीले विगतको अनुभवबाट पाठ सिकेर अहिले भइरहेको क्षमतालाई मात्रै प्रदर्शन गर्नसके देश विकास गर्न कति पनि समय लाग्दैन ।”

उहाँले भन्नुभयो – “लामो समयदेखि परनिर्भरताको चक्रमा फसेको नेपाललाई आत्मनिर्भर बनाउनु आजको आवश्यकता हो ।” कृषि, वन र पर्यटन क्षेत्रलाई विकास गर्न सकिए देश विकासले गति लिने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

स्वर्णमहोत्सवको अवसरमा राष्ट्रपति भण्डारीलाई जिल्लावासीले सम्मानसमेत गरेका थिए । आजै राष्ट्रपति भण्डारीले मानेभञ्ज्याङ गाविसस्थित गुराँसेमा रहेको आफू जन्मेको घर पुगेर आफन्तसँग भेटघाटसमेत गर्नुभएको थियो ।

उहाँले विनाशकारी भूकम्पबाट क्याम्पसलाई क्षति पुगेर उच्च शिक्षामा समेत प्रभाव पारेका बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले अहिलेको संविधानले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र संस्थागत गरेको बताउनुभयो ।

जनताका प्रतिनिधिमार्फत राम्रो संविधान निर्माण भएकामा सन्तोष व्यक्त गर्दै मन्त्री राईले अब नयाँ युगको सुरुवात भएको बताउनुभयो । संविधानको रक्षा र सफल कार्यान्वयन सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै उहाँले तराई मधेसमा जारी समस्या वार्ताबाट समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री राईले क्याम्पसमा इ–लाइब्रेरी स्थापना गर्नेसमेत घोषणा गर्नुभयो ।

प्रतिक्रिया