मंगलबार, साउन १९ २०७८
काठमाडौं २२:५५
वासिङटन डिसी 13:10

‘सरप्राइज चेकिङ’को कमाल

इनेप्लिज २०७२ पुष ८ गते १३:२५ मा प्रकाशित
मोटरसाईकल चालकलाई ब्रेथलाइजर लगाएर मापसे जाँच गर्दै जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक कालीदास रेग्मी ।

मोटरसाईकल चालकलाई ब्रेथलाइजर लगाएर मापसे जाँच गर्दै जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक कालीदास रेग्मी ।

लक्ष्मी काफ्ले

झापा, ८ पुस । शनिबार चारपानेमा ‘डान्स पार्टी’ सकेर दुई युवा साँझ ७ बजे घरतिर लागे । तर, अञ्जली हस्पिटल अगाडि ट्राफिक प्रहरी मादक पदार्थ सेवन (मापसे) जाँच गर्न बसेको उनीहरुलाई के थाहा ! उनीहरु ट्रफिकको फन्दामा परेरै छाडे ।

मापसे गरेको शङ्का लागेपछि ट्राफिकले चालकको लाइसेन्स मागे । ‘आज त हामीले खाएकै छैन सर,’ उनीहरु भन्दै थिए । तर, चेकिङमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक कालीदास रेग्मीले उनीहरुको कुरा विश्वास गरेनन् । र, चालकको मुखमा ब्रेथलाइजर (मापसे जाँच गर्ने यन्त्र) लगाए । ‘तपाईँले जति नै झुट बोलेपनि मेसिनले प्रष्ट पारिसक्यो,’ रेग्मीले यसो भनेपछि बल्ल उनीहरु चुप भए ।

साँझमा मापसे गरेर सवारी चलाउनेको सङ्ख्या बढेपछि अहिले ट्राफिकले ‘सरप्राइज चेकिङ’ सुरु गरेको छ । मुक्तिचोकमै पनि ट्राफिक चेकिङ भइरहेको सवारी चालकले पत्तै पाउँदैनन् । अलिक परैबाट ट्राफिकलाई देख्नेहरु ‘चोर बाटो’ हुँदै भाग्न खोज्छन् । तर, ट्राफिक प्रहरीसँगै रहेका जनपद प्रहरीले उनीहरुलाई भाग्ने मौकै दिँदैनन् । सरप्राइज चेकिङका कारण मापसे गरेर सवारी चलाउनेको सङ्ख्यामा कमी आउने ट्रफिकको विश्वास छ ।

‘सधैँ एकै ठाउँ नबसेर दिनहुँ फरक–फरक स्थानमा चेकिङ गर्न थालेपछि मापसे गर्नेहरु उम्कनै पाउँदैनन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक रोशन आचार्यले भने, ‘ट्राफिक कहाँ बसेको छ भन्ने कुरा सवारी चालकलाई थाहै हुँदैन ।’  आचार्यका अनुसार मापसे गर्नेहरु साँझमै बढी भेटिन्छन् । महिला पनि मापसे कारवाहीमा पर्ने गरेको उनी सुनाउँछन् ।

ट्राफिक स्रोतका अनुसार मोटरसाइकल चालकहरुले मापसे गरेको बढी पाइन्छ । तर, एक मिहनायता निरन्तर सरप्राइज चेकिङ गरेकाले चलकहरु सचेत हुन थालेको आचार्यले बताए । ‘मंसिरमा मात्रै ९६ जनाभन्दा बढी मापसे कारवाहीमा परे,’ उनले भने, ‘यसलाई न्यूनीकरण गर्ने हाम्रो लक्ष्य हो । पहिलेजस्तो जथाभावी छैन अहिले ।’

आचार्य आएपछिको परिवर्तन
प्रहरी निरीक्षक रोशन आचार्य जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखका रुपमा झापा आएको झण्डै एक वर्ष भयो । यो अवधिमा उनले सवारी दुर्घटना न्यूनीकरण गर्न थुप्रै प्रयासहरु गरे ।

उनी आउँदा झापाको ट्राफिक व्यवस्थापन निकै अस्तव्यस्त थियो । झापा आउनासाथ विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गर्न आचार्य विभिन्न विद्यालय पुगे । ट्रयाक्टरका कारण दुर्घटना बढिरहेका बेला उनले ट्रयाक्टरको ट्रलीमा ‘ब्याकलाईट’ जडान कार्य अगाडि बढाए । ध्वनी प्रदुशण कम गर्न उनले प्रेसर हर्नका सोलीहरु बोरामा जम्मा गरे ।

त्यसो त आचार्य योभन्दा अगाडि पनि बिर्तामोडमै थिए । इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रमुख छँदा फुटपाथ व्यवस्थापन गर्न उनी निकै सक्रियतापूर्वक लागेका थिए । ट्राफिकमा आएपछि पनि उनको जाँगर उस्तै छ । सडकमै पार्किङ गरेका मोटरसाईकल उनी आफैँ पन्छाउँदै हुन्छन् । आफू मातहतका कर्मचरीको हौसला बढाउन उनी आफैँ सडकमा निस्किन्छन् ।

सङ्ख्या अपुग
झापामा ४१ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको छ । तर, यति सङ्ख्या पर्याप्त नभएका कारण काजमा समेत गरेर जिल्लामा हाल ५८ जना ट्राफिक छन् । ‘तर, यो सङ्ख्या पनि पर्याप्त छैन,’ ट्राफिक प्रमुख आचार्य भन्छन्, ‘अहिले त झापाका भित्रि–भित्रि गाउँसम्म पनि सवारीसाधन पुगिसके । सबै ठाउँमा ट्राफिक प्रहरी पुग्न सकेकै छैन । अरु यति नै सङ्ख्या थप्दा मात्र ठिक्क हुन्छ ।’

हाल जिल्लाका तीन स्थान (बिर्तामोड, दमक र चन्द्रगढी) मा मात्र ट्राफिक दरबन्दी कायम छ । तर, सबैतिर ट्राफिकको पहुँच पुर्याउनका लागि हाल अन्य ११ स्थानमा अस्थायी ट्राफिक प्रहरी पोस्ट खडा गरिएको छ । काँकरभिट्टा, धुलाबारी, चारआली, बुधबारे, बिर्तामोड बसपार्क, सुरुङ्गा, झिलझिले, गौरादह, भद्रपुर, शनिश्चरे र केर्खामा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया