रेल्वेमार्फत ढुवानीको व्यवस्था गर्न माग

इनेप्लिज २०७२ पुष ७ गते ४:०४ मा प्रकाशित

पथरी (मोरङ), ७ पुस । सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले तेस्रो मुलुकको वस्तु रेल्वेमार्फत ढुवानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उद्योग सङ्गठन मोरङ र नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना समन्वय कार्यालयको आयोजनामा सोमबार विराटनगरमा भएको छलफलका क्रममा व्यवसायीले भारतको जोगवनीसम्म कोलकोताबाट तेस्रो मुलुकको वस्तु रेल्वेमार्फत ढुवानीको व्यवस्था, नेपालको प्लान्ट क्वारेन्टाइन तथा खाद्य तथा गुणस्तर प्रयोगशालाबाट भएको प्रमाणपत्रलाई मान्यता दिनुपर्ने माग राखेका छन् ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले नेपाल–भारत वाणिज्य सन्धि, १९९६ मा भारतीय साना उद्योगलाई भारतले दिएको साना औद्योगिक एकाइ (एसएसयु)को सुविधा नेपाली साना उद्योगले पनि पाउनुपर्ने बताउनुभयो ।

व्यावसायिक हक, हित र प्रवद्र्धनका लागि राजदूतावास र वाणिज्यदूतको कार्यालयलाई क्रियाशील बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल गर्नुपर्ने, अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)को स्पष्ट परिभाषा र यसको नियमनका सम्बन्धमा छलफल गरी यसबाट परेको दुविधा हटाउनुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।

छलफलमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेले उद्योगी व्यवसायीले उठाएका विषयमा नीति निर्माण गरी नेपाल–भारत सचिवस्तरकै तहबाट समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाँले आयात निर्यातलाई सहज र सरल बनाउन नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना समन्वय कार्यालयले पहल गरिरहेको स्पष्ट पार्नुभयो ।

उहा“ले नेपाल र भारतबीचको व्यापार सहजीकरणका लागि वाणिज्य मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग मिलेर कार्य गर्दै आएकाले आगामी दिनमा उद्योग व्यापार क्षेत्रलाई थप सहज हुने बताउनुभयो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडाले उद्योग व्यवसायको विकासका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थमन्त्रालयबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया