सप्तरीमा अस्पताल खुलेसँगै बिरामीको चाप बढ्दै

इनेप्लिज २०७२ पुष ६ गते १:३२ मा प्रकाशित

सप्तरी, ६ पुस । छब्बीस दिनको बन्दपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल खुलेसँगै अहिले सो अस्पतालमा बिरामीको चाप बढेको छ ।

अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था तीन दिन अगाडि खुलेपछि अस्पताल र जिल्लाका स्वास्थ्य कार्यालयमा बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ ।

केही दिनयता तराई मधेसमा बढेको शीतलहर र अत्यधिक चिसोबाट प्रभावित भएका वृद्धवृद्धा तथा बालबालिका अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।

सप्तरी जिल्लाको एकमात्र सरकारी अस्पतालका रुपमा रहेको सगरमाथा अञ्चल अस्पतालमा ज्वरो, रुघाखोकी कोल्ड डायरिया रोगबाट प्रभावित भएका बिरामीको अहिले अस्पतालमा चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।

सो अस्पतालमा दिनहुँ २०० देखि ३०० सम्म बिरामी आउने गरेकाले अस्पतालमा श्ययाको समेत अभाव देखिएको छ । साथै जिल्लाको हनुमाननगर, भारदह कञ्चनपुर र पश्चिमी भेगमा पर्ने पातो, बरसाइन, कल्याणपुरलगायतका ठाउँमा रहेका स्वास्थ्य संस्थामा चिसोबाट प्रभावित बिरामीको चाप बढेको बताइएको छ ।

लामो समयदेखि बन्द रहेको अञ्चल अस्पताल र स्वास्थ्य संस्था तीन दिन अगाडि खुलेपछि ग्रामीण भेगका गरिब, निमुखा र आर्थिक अवस्था कमजोर भएका परिवारले आफ्नै जिल्लामा रहेका अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्न पाउँदा खुसी भएको कल्याणपुर– २ का रामकुमार यादवले बताउनुभयो ।
चिसोबाट सप्तरीको जनजीवन प्रभावित

विगत एक सातादेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीसहित तराईका जिल्लामा जनजीवन प्रभावित भएको छ ।

तराईमा बढेको अत्यधिक चिसोका कारण खासगरी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् ।

चिसोका कारण ज्वरो र रुघाखोकीका लक्षण देखापर्नु, बिहान बाक्लो हुस्सु लागेका कारण बजारमा सर्वसाधारणको चहलपहलमा कमी देखिनुका साथै दिउँसोको समयमा हल्का घाम लाग्ने गरेको छ ।

जाडो बढेपछि सप्तरीको सदरमुकाम राजविराजका पसलमा बाक्लो लुगा किन्नेको भीड लाग्ने गरेको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पूर्वको सुनसरी, मोरङ, झापालगायत तराईका जिल्लामा एकाएक बढेको चिसोका कारण जनजीवन कष्टकर बनेको बताइएको छ ।

प्रतिक्रिया