करोडौँ मूल्य बराबरको गाँजाखेती नष्ट

इनेप्लिज २०७२ पुष ६ गते १:३० मा प्रकाशित

gaajaखोटाङ, ६ पुस । प्रहरीले जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयवासीले अवैध रुपमा लगाएको करोडौँ मूल्य बराबरको गाँजाखेती नष्ट गरेको छ ।

जिप्रका, खोटाङले पश्चिमी क्षेत्रका स्थानीयवासीले व्यावसायिक रुपमा ४३७ रोपनी जग्गामा लगाएको करोडौँ मूल्य बराबरको अवैध गाँजाखेती नष्ट गरेको हो ।

गाँजाखेती नष्ट गर्न प्रहरी निरीक्षक सरोज राईको नेतृत्वमा ५० जनाको टोली परिचालन गरिएको जिप्रका, खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “स्थानीयवासीले व्यावसायिक रुपमा गाँजाखेती गरेको जानकारी पायौँ ।” उहाँले भन्नुभयो – “अवैध रुपमा लगाइएको गाँजाखेती नष्ट गर्न हामीले विशेष अभियान चलाएका छौँ ।”

गाँजाखेती नष्ट गर्न प्रहरीले महिना दिनअघिदेखि विशेष अभियान सञ्चालन गरेको थियो । विशेष अभियानअन्तर्गत प्रहरीले दुर्छिम, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, डिकुवा, धितुङ, मङ्गलटारलगायत गाविसका स्थानीयवासीले अवैध रुपमा लगाएका गाँजाखेती नष्ट गरेको छ ।

अभियानका क्रममा दुर्छिम–२ मा जङ्गलको भिरमा प्लास्टिकको बोरामा राखिएको ९० केजी तयारी गाँजासमेत फेला पारेर जलाइएको प्रहरीले जनाएको छ । अन्यबाली कम उब्जाउ हुने सो क्षेत्रमा व्यावसायिक रुपमा गाँजाखेती मौलाउँदै गएपछि प्रहरीले नष्टका लागि अभियान चलाएको हो ।

यसअघि प्रहरीलाई घुस खुवाएर गाँजा बिक्री वितरण गर्ने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार यस वर्ष पनि प्रहरीलाई घुस खुवाउन गाँजाखेती गर्ने स्थानीयवासीले प्रत्येक घरबाट रकम सङ्कलन गरेका थिए ।

तराईसँगको सीमा जोडिएको पश्चिमी क्षेत्रमा गाँजाखेती गर्न व्यवसायीले खेती गर्ने समयअगावै पेस्की दिने गरेको पाइएको छ । प्रतिकेजी रु पाँच हजारमा घरैबाट बिक्री हुने गाँजाखेतीका लागि व्यवसायीले रु ५० हजारदेखि एक लाखसम्म पेस्की दिने गरेको पाइएको छ ।

पश्चिमी क्षेत्रमा उत्पादन हुने गाँजा छिमेकी जिल्ला उदयपुर हुँदै अन्यत्र निर्यात हुने गरेको छ । यस वर्ष पाक्न नपाउँदै प्रहरीले गाँजाखेती नष्ट गरेको हो ।

प्रतिक्रिया