किसानले उखुको उचित मूल्य पाएनन्

इनेप्लिज २०७२ पुष ५ गते ११:३७ मा प्रकाशित

sugarcanenepalfarmingमहोत्तरी, ५ पुस । एभरेष्ट चिनी उद्योग रामनगर सञ्चालन हुने कुनै सुरसार नदेखिएपछि जिल्लाका किसानले आधाभन्दा कम मूूल्यमा उखु बिक्री गर्दै आएका छन् ।

मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडताल तथा सीमामा धर्नाका कारण आर्थिक रुपमा सङ्कटमा फसेका जिल्लाका किसान खेतमा तयारी अवस्थामा रहेको उखु आधाभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएका हुन् । स्थानीय क्रसर सञ्चालकलाई उखु प्रतिक्विन्टल रु २०० देखि रु २५० का दरले बिक्री गर्दै आएका छन् ।

जिल्लाका रामनगर, पुशपतिनगर, वेलगाछी, विजलपुरा, हातिलेट, औरही गाविसका किसानले एभरेष्ट चिनी उद्योग सञ्चालन हुन नसकेपछि किसानले उखुको उचित मूल्य पाउन सकेका छैनन् । “आलु, गहुँ, दलहन तथा तेलहन बाली लगाउन ढिला भएपछि उखु कम मूल्यमै बिक्री गर्दै आएका छौँ” गौशालाका किसान घनश्याम देवकोटाले भन्नुभयो ।

चिनी उद्योगमा उधारोमा बिक्री गर्नुभन्दा कम मूल्य भए पनि नगदमै उखु बिक्री गर्नु परेको वेलगाछीका योगेन्द्र महतोको भनाइ छ । “भुक्तानी पूर्ण रुपमा अहिलेसम्म पाउन सकेको छैन” उहाँले भन्नुभयो । गत वर्ष किसानले एभरेष्ट चिनी उद्योगमा प्रतिक्विन्टल रु ४०१ का दरले उखु बिक्री गरेका थिए ।

मोर्चाको अनिश्चितकालीन आमहडताल तथा सीमा धर्नाका कारण मिल सञ्चालनका लागि अत्यावश्यक सामग्री एवम् रासायनिक पदार्थ भारतीय बजारबाट आउने सम्भावना नरहेकोले मिल सञ्चालन अनिश्चित बन्दै गएको एभरेष्ट चिनी उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासले बताउनुभयो ।

प्रतिक्रिया