गोली लागी प्रदर्शनकारीको मृत्यु

इनेप्लिज २०७२ पुष ५ गते ११:३५ मा प्रकाशित

goliरौतहट, ५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच आज अपराह्न गौरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ ।

गौर नगरपालिकास्थित बिपी चोकमा मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागी स्थानीय तेजापाकड गाविस–१ बस्ने १७ वर्षीय शेष तवरेजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

निजको दाहिने कोखमा गोली लागेको बताइएको छ । तवरेजको गौर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तालाई हटाउने उद्देश्यल आठ सेल अश्रुग्यास प्रहार गरिएपछि पनि स्थिति सामान्य नहुँदा बाध्य भएर आत्मरक्षाका लागि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशराज रेग्मीले बताउनुभयो ।
गौरमा अनिश्चितकालीन निषेधाज्ञा

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आज सदरमुकाम गौरमा निषेधाज्ञा आदेश जारी गरेको छ । गौरमा आज मोर्चाका कार्यकर्ता तथा प्रहरीवीच भएको झडपमा एक जनाको मृत्यु भएको र अवस्था सामान्य नभएकाले शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी प्रशासन कार्यालयले गौर नगरपालिका क्षेत्रमा अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रशासन कार्यालयले गौर नगरपालिका अन्तर्गत उत्तरमा नयाँ बसपार्कको वडहरवा पुल, दक्षिणमा गौर भन्सार गेट, पूर्वमा हनुमानस्थानको वडहरवा पुल र पश्चिममा टिकुलिया गाउँदेखि पूर्वसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश जारी भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल जानकारी दिनुभयो ।

प्रतिक्रिया