वनको बीच र खोला छेउमा बस्ने चिसो बढेपछि आगो बालेर रात काट्न बाध्य

इनेप्लिज २०७२ पुष ४ गते ३:१० मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ४ पुस । पुस महिनाको सुरुवातसँगै बढेको चिसोका कारण म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने विपन्न परिवार दाउरा बालेर आगो ताप्दै रात कटाउन बाध्य भएका छन् ।

भकिम्ली गाविस–९ लहरेनी र बेनी नगरपालिका–४ बगरफाँटका दलित र विपन्न परिवार दाउरा बालेर आगो ताप्दै रात काट्न बाध्य भएका हुन् ।

आर्थिक अवस्था कमजोर भएको कारण सिरकको उचित व्यवस्थापन गर्न नसक्दा अहिले चिसो बढेसँगै राति आगो बालेर आगोको छेउमा रात काट्न बाध्य हुनु परेको लहरेनीका ७६ वर्षीय दलवीर किसानले बताउनुभयो । “जाडोको कहर सही नसक्नु भयो हजुर, न्यानो कपडा छैन, रातभरि आगो तापेर जीउ सेक्छौँ” किसानले भन्नुभयो ।

बगरफाँट सामुदायिक वन र भकिल्ली वन क्षेत्रका बीचमा पर्ने घना जङ्गलको मध्यभागमा अवस्थित लहरेनीमा बसोबास गर्ने १३ घर परिवारमध्ये अहिले नौ घरका विपन्न दलित जातिले गतिलो ओढ्नेको अभावमा राति आगो बालेर आगोको छेउमा बस्ने र सुतेर रात काट्न बाध्य भएको अर्का स्थानीय भवबहादुर विकले बताउनुभयो ।

आफ्नो जग्गा पनि नभएको र ऐलानी जग्गामा बसोबास गर्दै आएका यी दलित जाति लामो समयदेखि खरको सानो–सानो छाप्रोमा बस्दै आएका छन् । दिनभरि वनमा दाउरा खोज्ने र भोलिपल्ट बिहान दाउराको भारी बोकेर दुई घन्टाको दूरीमा रहेको म्याग्दी सदरमुकाम बेनी बजारमा बिक्री गरी आएको पैसाले गुजारा चलाउने ती विपन्न दलित परिवारका बालबालिकाले विद्यालयमा पढ्ने खर्च पनि दाउरा बेचेर नै जुटाउने गर्दछन् ।

वर्षौंदेखि दाउरा बेचेर गुजारा चलाउँदै आएकी ५३ वर्षीया सेती विक भन्नुहुन्छ– “श्रीमान् र मैले दाउरा काटेर बिक्री गरी घरपरिवार चलाउँछौँ तर आवश्यक कमाइ गर्न नसक्दा छोराछोरीलाई राम्रो लुगाफाटा लगाइदिन र ओढ्ने ओछ्याउने बन्दोबस्त गर्न सकिएन ।” उहाँका तीन छोरी र दुई छोरा छन् ।

यता बेनी नगरपालिका क्षेत्रकै वडा–४ स्थित मसिनी कार्की पनि न्यानो कपडाको अभावमा मरणासन्न अवस्थामा पुगेकी छन् । कोटखोला बारी अग्लो डाँडोमा खरको सानो छाप्रोमा बस्दै आएकी मसिनि राम्रोसँग कान सुन्न र आँखा देख्न सक्दिनन् । ६८ वर्ष पार गरेकी मसिनी पाँच वर्षअघि श्रीमान्को मृत्यु भएपछि बेसाहारा बनेकी हुन् । उनका श्रीमान्ले कटुवालको काम गरी सिजनमा उठाएको अन्नले उनको गुजारा चल्ने गरेको थियो । श्रीमान्को मृत्यु पछि एक छाक मकै र एक छाक भोकै रहने गरेकी मसिनीलाई जाडोको समयमा निकै नै गारो पर्ने गरेको स्थानीय राजु रिजालले बताउनुभयो । रिजालका अनुसार मसिनीले अहिले आफ्नी बहिनी जुवाइलाई समेत घरमा राखेकी छिन् । आँखा नदेख्ने उनका जुवाइ र कान नसुन्ने बहिनीलाई पाल्नुपर्ने बाध्यताले उनी झन पीडित बनेको रिजालले बताउनुभयो ।

सरकारी जग्गामा बस्दै आएकी यी मसिनीको अवस्था अत्यन्त दयनीय रहेको र उनलाई तत्कालै न्याना कपडा र खानेकुराको आवश्यकता भएको स्थानीयले बताएका छन् । केही दिनदेखि यता चिसो बढेसँगै नगरको अन्य क्षेत्रका स्थानीय बासिन्दासमेत आगोको साहारा लिन बाध्य हुन थालेका छन् ।

यसैगरी उच्च ग्रामीण क्षेत्रका अधिकांश स्थानीय चिसो बढेसँगै अहिले बिहान, बेलुकी र रातमा समेत आगोको साहारामा रहनुपरेको भकिम्ली डाँडाखानीका मनबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो– “आफूहरूको घरमा शरीरमा लगाउने कपडा र ओढ्ने कपडा व्यवस्थापनमा त्यति धेरै ध्यान नजाँदा प्रायः चिसो बढेको समयमा पनि गाउँघरका सबै परिवारको आगो ताप्ने प्रचलन रहेको छ ।”

कतिपय स्थानीय आर्थिक अवस्था राम्रै भए पनि चिसोको समयमा घरमा ओढ्ने ओछ्याउने कपडाको व्यवस्थापन गर्नुभन्दा पनि प्रायः घरको छेउ तथा चोकमा बिहान–बेलुकी आगो तापेर बस्ने प्रचलन रहँदै आएको अर्का स्थानीय भलक पुन बताउनुहुन्छ । चिसो बढेसँगै यस क्षेत्रका धेरै गरिब परिवार भने अहिले बिहान, बेलुकी तथा रातको समयमा समेत दिनमा दाउराको जोहो गरेर आगो बालेर आगोको साहारामा रात काट्न थालेका छन् ।

केही स्थानीय चिसो मौसमको समयमा बिहान–बेलुकी आगो बालेर संयुक्तरूपमा आगो ताप्नु प्रचलन नै भएको देखिन्छ भने आर्थिक अवस्था कमजोर हुने र परिवार सञ्चालन गर्न नसक्ने अवस्थाका भने ओढ्ने कपडाको अभावमा चिसो बढेसँगै रातको समयमा दाउराको सहारामा आगो बालेर रात काट्न बाध्य छन् ।

प्रतिक्रिया