तनहुँ, ३ पुस । जिल्ला कृषि विकास कार्यालय तनहुँले भकारो सुधार कार्यक्रमलाई जिल्लामा अभियानकै रुपमा अघि बढाएपछि प्रभावकारी बनेको छ ।
पशुपालनका लागि गोठ सुधार कार्यक्रमअन्तर्गत पशुको पिसाब सङ्कलन गरेर कृषकले तरकारी खेतीलाई व्यावसायिक रुपमा गर्न थालेपछि उक्त कार्यक्रम प्रभावकारी बनेको हो । उक्त कार्यालयले आव ०७१/७२ मा ४१० र आव ०७२/७३ मा ३२५ गरी कुल ७३५ गोठमा गोठ सुधार कार्यक्रम गरेको कार्यालयका कृषि प्रसार अधिकृत विनोद घिमिरेले जानकारी दिनुभयो ।
सो अभियानअन्तर्गत गोठ सुधारका लागि प्रतिकृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार २०० का दरले आर्थिक सहयोग गर्ने गरिएको उहाँले बताउनुभयो । जिल्लाको सेपाबगैँचा, वारीफाँट, चन्द्रावती, श्याम्घा, आँवुखैरेनी, ढोरफिर्दी, चोकचिसापानी, घाँसीकुवा, भिमादलगायतका एक दर्जनभन्दा बढी गाविसमा गोठ सुधार कार्यक्रम लागू गरिएको सो कार्यालयले जनाएको छ ।
भकारो सुधार कार्यक्रमअन्र्तगत वस्तु बस्ने स्थानमा हल्का भिरालो बनाएर खस्रो सिमेन्टले प्लास्टर गरेपछि पशुको पिसाबलाई सिधै खाडलमा जम्मा गर्ने प्रावधान मिलाइन्छ । कृषि प्रसार अधिकृत विनोद घिमिरेले भन्नुभयो, “यसरी जम्मा गरिएको पिसाब बिरुवालाई आवश्यक पर्ने सिँचाइ गर्न, नाइट्रोजन मलका रुपमा प्रयोग गर्न र विषादी औषधिका रुपमा प्रयोग गर्न सकिन्छ ।”
पछिल्लो समय तनहुँका कृषकले यसरी सङ्कलन गरिएको वस्तुको पिसाबलाई व्यावसायिक तरकारी खेतीमा प्रयोग गरी आम्दानी लिन थालेका छन् । ठूला बिरुवा भए एक लिटर पिसाबमा ६ लिटर पानी मिसाएर प्रयोग गरिन्छ भने साना बिरुवाका लागि एक लिटर पिसाबमा १० लिटर पानी मिसाएर प्रयोग गरेको खण्डमा बिरुवाबाट राम्रो आम्दानी लिन सकिने अधिकृत घिमिरे बताउनुहुन्छ ।
प्रतिक्रिया