गोर्खेमा प्रहरी चौकी माग

इनेप्लिज २०७२ पुष १ गते ४:१६ मा प्रकाशित

ilam_nepal_mapइलाम, १ पुस । पूर्वी इलामको भारतसँग सिमाना जोडिएको गोर्खे गाविसका बासिन्दाले प्रहरी चौकी स्थापनाको माग गरेका छन् ।

विसं २०१९ अघि इलाका प्रहरी कार्यालयस्तरीय प्रहरी चौकी र मूल भन्सारसमेत रहेको गोर्खे गाविसस्थित गोर्खेबजारमा हाल सुरक्षाका लागि प्रहरीको कुनै संरचना नभएकाले त्यहाँ प्रहरी चौकी स्थापना गरिदिन स्थानीय बासिन्दाले माग गरेका हुन् । त्यहाँ पुग्नुभएका इलामका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक र स्थानीय विकास अधिकारीसँग स्थानीय बासिन्दाले तत्काल प्रहरी चौकी स्थापना गरिदिन माग गरेका हुन् ।

स्थानीय लोकबहादुर कटुवालका अनुसार प्रहरी चौकी माग गर्दै दसैँअघि पनि जिल्ला प्रशासन कार्यालयमा प्रतिनिधिमण्डल गएको थियो । स्थानीय हिमालय उमाविमा एसएलसीको सेन्टर हुँदा सुरक्षाकर्मी बाहिरबाट ल्याउनुपर्ने र गोर्खेबजारमा बैंक लगायतका वित्तीय संस्था खुल्ने तयारी गरे पनि सुरक्षा अभावले गर्दा नखुलेकाले प्रहरी चौकी अनिवार्य भएको उहाँले बताउनुभयो ।

गोर्खेमा सशस्त्र द्वन्द्वअघि पनि प्रहरी चौकी थियो । त्यसअघि गोर्खेमा कृषि विकास बैंक, साझा संस्था, विद्युत् कार्यालय र भेटेरिनरी कार्यालय पनि थिए । द्वन्द्वपछि ती सबै कार्यालय असुरक्षाको कारण देखाउँदै विस्थापित भएका थिए । स्थानीयको माग सुनुवाइ गर्दै प्रजिअ विष्णुकुमार कार्कीले आपूmले प्रहरी चौकी स्थापनाका लागि पहल गर्ने आश्वासन दिनुभयो ।
मेची राजमार्ग कालोपत्रे नहुँदासम्म इलामको पूर्वी भेगमा रहेको गोर्खेबजार नै जिल्लाको सबैभन्दा ठूलो व्यापारिक नाकाका रूपमा रहेको थियो । मेची राजमार्ग कालोपत्र भएसँगै पशुपतिनगर बजारले गोर्खेको व्यापारलाई विस्थापित गर्दै लगेको हो ।

प्रतिक्रिया