महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

इनेप्लिज २०७२ पुष १ गते ३:२६ मा प्रकाशित

रामपुर (पाल्पा), १ पुस । ग्रामीण क्षेत्रका महिलालाई पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुने समस्याबाट पीडित महिलालाई रोग मुक्त गराउने उद्देश्यले परिवार नियोजन सङ्घले यहाँ निःशुल्क परीक्षण र उपचारका लागि शिविर सञ्चालन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वय, रोटरी क्लब अफ पाल्पाको आयोजनामा बन्दीपोखरा गाविसको स्वास्थ्य चौकीमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणमा ६० महिलाको पाठेघरको परीक्षण गरेकामा १० महिलामा यौन रोगको सङ्क्रमण, पाँचजनामा पाठेघर खस्ने समस्या देखिएकामा तीनको शिविरमै र दुईजनालाई जिल्ला अस्पतालमा सिफारिस गरिएको सङ्घका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले बताउनुभयो ।
सङ्घको स्वास्थ्य क्लिनिकबाट नियमित रुपमा महिलाको मुख्य समस्याका रुपमा देखापर्ने पाठेघर खस्ने, क्यान्सर देखापर्ने गरेका बखतमा आफ्ना सेवालाई प्रभावकारी रुपमा लैजाने उद्देश्यले कसेनी, मदनपोखरा र चिर्तुङ्गधारा गाविसमा शिविर सञ्चालन गरिसकेको जानकारी उहाँले दिनुभयो ।

अझैसम्म महिलाहरुमा आफ्ना रोग तथा समस्या पालेर बस्ने अवस्थामा रहेका छन् । कार्यालयसम्म आइपुग्दा लाज मान्ने प्रवृत्ति कायम नै रहेकाले पनि सङ्घले गाउँ गाउँमा शिविर सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो ।

हालसम्म ५०० भन्दा बढी महिलाको पाठेघरको परीक्षणका क्रममा १४ जनालाई सङ्क्रमण देखिएकाले सङ्घको केन्द्रीय कार्यालय र भरतपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस गरिएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया