समय नभएका विद्यार्थीलाई मोबाइल एप्स र इन्टरनेटबाट समेत पढाउने योजना

इनेप्लिज २०७२ पुष १ गते ३:२१ मा प्रकाशित

mobilePhoneकाठमाडौँ, १ पुस । सरकारले रेडियो र एफएमबाट पढ्न नपाउने र समय नमिल्ने कक्षा १० का विद्यार्थीका लागि अब मोबाइल एप्स तथा इन्टरनेटबाट समेत पढ्ने व्यवस्था मिलाउने योजना बनाएको छ ।

भूकम्प र तराई आन्दोलनका कारण पढ्न नपाएका विद्यार्थीका लागि सरकारले गत शुक्रबारदेखि रेडियो नेपाल र स्थानीय एफएमबाट पढाउन सुरु गरिसकेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालका अनुसार करिब २२ लाख विद्यार्थीलाई लक्षित गरी शैक्षिक जनशक्ति विकास केन्द्रले तयार पारेको पाठ्यक्रममा आधारित रहेर कक्षा सुरु गरिएको हो ।

फागुनको अन्तिम सातासम्म कक्षा सञ्चालन गर्ने योजना रहेको छ भने पहिलो चरणमा १५ मिनेटको अवधिमा कक्षा सञ्चालन हुनेछ । रेडियो नेपालबाट बेलुका ७ बजेको समाचारपछि उक्त कक्षा सञ्चालन हुनेछ । रेडियोबाट सञ्चालन हुने कक्षाको तालिकाअनुसार आइतबार अङ्ग्रेजी, पहिलो र दोस्रो हप्ताको सोमबार गणित, तेस्रो र चौथो हप्ता स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, हरेक हप्ता मङ्गलबार गणित, बुधबार समाचार, सूचना, रेडियो रिपोर्ट, प्रश्नोत्तर, लघुनाटकलगायतका समसामयिक शैक्षिक गतिविधि सञ्चालन हुनेछ ।

यसैगरी हरेक हप्ता बिहीबार सामाजिक शिक्षा, शुक्रबार नेपाली र पहिलो हप्ता शनिबार पाठ्यक्रममा आधारित रेडियो नाटक, दोस्रो हप्ता अन्तर्वार्ता, तेस्रो हप्ता रेडियो नाटक र चौथो हप्ता विद्यार्थी प्रश्नोत्तर, सूचना प्रसारण हुनेछ । नेपाल टेलिभिजनबाट भने अनिवार्य विषय मात्र पढाइनेछ । आइतबार र सोमबार बेलुकी ५ः३० बजे २५ मिनेट अङ्ग्रेजी, गणित र विज्ञान विषय पढाइनेछ ।

प्रतिक्रिया