व्यावहारिक शिक्षा अहिलेको आवश्यकता: प्रधानमन्त्री

इनेप्लिज २०७२ मंसिर २९ गते १२:२९ मा प्रकाशित

KP-Oliबनेपा, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अवस्थामा व्यावहारिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – “दीक्षित विद्यार्थीले शैक्षिक प्रमाणपत्र ग्रहण गरेर मात्रै पुग्दैन । शिक्षालाई व्यवहारमै उतारेर सार्थक बनाउनुपर्छ ।”

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले व्यवहारमा कार्यान्वयन हुने शिक्षाबाट मात्रै मुलुकको आवश्यकता पूरा हुने बताउनुभयो । मुलुकमा विद्यमान अथाह स्रोतको परिचालन नहुँदा मुलुक पछि परेको उहाँको भनाइ थियो ।

“शिक्षा मानव सभ्यतालाई उन्नत र सार्थक बनाउन केन्द्रित हुन जरुरी छ, त्यसैले आफूले सिकेको ज्ञान र सीप मातृभूमिका लागि समर्पित गर्नुहोला” – दीक्षितहरुमाझ प्रधानमन्त्रीले भन्नुभयो ।

साहित्यकार तथा वरिष्ठ पत्रकार मदनमणि दीक्षितले नयाँ बाटोमा हिँडेर मात्रै मुलुकको सामाजिक र आर्थिक विकास हुने कुरामा जोड दिँदै नेपालमा युगान्तकारी परिवर्तन सुरु भएको बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले शिक्षाको उद्देश्य भित्रसम्म पुगेर समस्या समाधानको बाटो पहिल्याउने हो भन्नुभयो ।

चुनौतीको सामना गर्नेले नै इतिहास रच्ने बताउँदै उहाँले भन्नुभयो – दीक्षित विद्यार्थीको काँधमा गहन जिम्मेवारी आएको छ । जिम्मेवारी बहन गर्दा अस्वस्थ्य प्रतिष्पर्धा र रिसराग त्याग्न जरुरी छ ।

विश्वविद्यालयबाट यस वर्ष मानविकीतर्फ २०३, शिक्षाशास्त्रतर्फ ७२, इन्जिनियरिङतर्फ २६२, व्यवस्थापनतर्फ ४६९, विज्ञानतर्फ २३७ गरी कुल एक हजार २४३ विद्यार्थी दीक्षित भएका छन् । यीमध्ये भारतका १३, बेलायतका दुई, रुसका दुई, अमेरिका, बङ्गलादेशका, स्पेन, जर्मनी, नेदरल्यान्ड्स, क्यानडा, मौरिसस, ब्राजिल र नर्वेका एक÷एक जना विदेशी विद्यार्थीसमेत दीक्षित भएका छन् ।

कार्यक्रममा इन्जिनियरिङतर्फ स्नातकोत्तर तहमा ‘चान्सलर स्वर्णपदक’ टङ्कप्रसाद दाहाललाई, ‘भाइस चान्सलर स्वर्णपदक’ स्कुल अफ आर्टस्का स्नातक तहका सुयश कुमार न्यौपानेलाई, ‘जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक’ कृति प्रधान र ‘रणबहादुर शाह’ स्वर्णपदक स्मृति सिंहलाई प्रदान गरिएको थियो । यसअघि पहिलो चरणको दीक्षान्त समारोहमा मेडिकल साइन्सतर्फ एक हजार २४४ दीक्षित भएका थिए ।

पहिलो दीक्षान्त समारोहदेखि एक्काइसौँ दीक्षान्त समारोहसम्म विश्वविद्यालयबाट मानविकीतर्फ एक हजार ६७७, शिक्षातर्फ ८०१, इन्जिनियरिङतर्फ दुई हजार ३८२, व्यवस्थापनतर्फ चार हजार ५१, विज्ञानतर्फ दुई हजार ९७ र मेडिकल साइन्सतर्फ नौ हजार ६७० गरी कुल २० हजार ६७८ शैक्षिक जनशक्ति उत्पादन भएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया