दुवै विधेयक एकसाथ ल्याउन माग

इनेप्लिज २०७२ मंसिर २९ गते ६:४१ मा प्रकाशित

काठमाडौँ, २९ मङ्सिर । नेपाली काँग्रेस पदाधिकारी बैठकले व्यवस्थापिका–संसद्को बैठकमा भूकम्प पुनःनिर्माणसम्बन्धी र नेपालको संविधान संशोधनसम्बन्धी विधेयकलाई सँगै ल्याउन सरकारसँग आज पुनः माग गरेको छ ।

काठमाडौँ उपत्यकामा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्य समेत सहभागी रहेको सो बैठकले संसद्को आज बस्ने बैठकमा ती दुवै विधेयक एउटै कार्यसूचीमा आउने विश्वास व्यक्त गरेको छ ।

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको सो बैठकले ती दुवै विधेयकलाई एउटै कार्यसूचीमा ल्याउन सरकारसँग पुनः माग गरेको र पार्टी भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयकको विरोधी नभएको स्पष्ट पारेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

संसद् बैठकमा ती विधेयकलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा दलबीच सहमति जुट्न नसक्दा व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले तराई–मधेसको आन्दोलन तथा अन्य समुदायको मागलाई सम्बोधन गर्न आफ्नो नेतृत्वमा रहेको अघिल्लो सरकारको समयमा संविधान संशोधनसम्बन्धी प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको थियो ।

प्रवक्ता वडूले पार्टीले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयकलाई व्यवस्थापिका–संसद्मा पेस गर्ने विषयमा कहिल्यै अवरोध नगरेको तर यसका साथ तराई मधेसमा जारी आन्दोलनका मागलाई सम्बोधन गर्न संविधानको प्रस्ताव सदन समक्ष पुनः पेस गरिनुपर्छ भन्ने मात्र माग गरेको हो भन्नुभयो ।
बैठकमा पार्टी सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो ।
बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको कार्यसूची तथा आगामी फागुन २० देखि २३ सम्म हुने १३ आँै महाधिवेशनका तयारीका विविध पक्षमा पनि छलफल गरेको थियो ।

प्रतिक्रिया