चिम्नी दुर्घटनामा मृतकको सङ्ख्या आठ पुग्यो

इनेप्लिज २०७२ मंसिर २९ गते ५:०६ मा प्रकाशित

इटहरी, २९ मङ्सिर । इटहरी उपमहानगरपालिका–१६ स्थित न्यू जयनेपाल इँटाभट्टामा सोमबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेका छन् ।

जलाइराखिएको चिम्नी ढल्दा इँटाभट्टामा कार्यरत सात जनाको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा मृत्यु हुनेमा १६ वर्षीय मुस्तफा आलम मियाँ रहेको छ ।

घटनास्थलमै मृत्यु हुनेमा भारत विहार घर भएका कामदार ५० वर्षीय गरिबलाल पासवान, ३५ वर्षीय मिथिलेश पासवान, १६ वर्षीय सलुन मियाँ, १५ वर्षीय सग्दाम हुसैन र १२ वर्षीय राहुल तथा इटहरी उपमहानगरपालिका १६ एकम्बाकी ६० वर्षीया गलदीदेवी चौधरी र इटहरी २० पकलीका शिवनारायण चौधरी रहेका छन् ।

सो घटनामा २५ भन्दा बढी कामदार घाइते भएको र केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सामान्य घाइतेको पकली, भासी, झुम्का, इनरुवा र इटहरीलगायत क्षेत्रमा रहेका उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया