वैदेशिक रोजगारीमा जाने महिलाका लागि परामर्श सुरु

इनेप्लिज २०७२ मंसिर २९ गते ४:४६ मा प्रकाशित

इलाम, २९ मङ्सिर । महिलाका लागि वैदेशिक रोजगार सुरक्षित पार्ने उद्देश्यले वर्क इन फ्रिडम कार्यक्रम यहाँ सुरु भएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र जिल्ला विकास समितिको संयोजनमा दुई नगरपालिका र १३ गाविसमा वैदेशिक रोजगारमा जान लागेका र गएर फर्किएका महिलाका लागि लक्षित कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका सूर्याेदय, देउमाई नगरपालिकाका साथै दानाबारी, महमाई, आमचोक, फुएँतप्पा, चुलाचुली, सिद्धिथुम्का, जीतपुर, जिर्मले, इरौँटार, बाँझो, साकफारा र गजुरमुखीमा कार्यक्रम सुरु गरिएको हो ।

विदेशमा कसरी सुरक्षित रहने, जानुअघि अपनाउनुपर्ने वैधानिकता, सुरक्षित तरिकाले कसरी काम गर्न सकिन्छ भन्ने बारेमा गाउँ–गाउँमा गएर सचेतना जगाउने काम गरिने जिविसले बताएको छ ।

यसका लागि जिविसले १५ सामाजिक परिचालक र नेपाल ट्रेड युनियन काँग्रेसले १५ महिला गरी ३० जनालाई सोसम्बन्धी विशेष तालिम प्रदान गरेको छ ।

तालिमपछि सहजकर्ताले आ–आफ्नो गाविसमा गएर महिलालाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी उचित परामर्श दिन थालिएको आइएलओकी प्रतिनिधि चाँदनी रानाले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने अधिकांश महिला असुरक्षित भइरहेको परिस्थितिमा कार्यक्रमबाट महिलालाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रम सञ्चालनका लागि आइएलओले जिविससँग एकवर्षका लागि रु २५ लाख ५५ हजारमा सम्झौता गरेको कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया