आइतबार, साउन १७ २०७८
काठमाडौं ०७:४९
वासिङटन डिसी 22:04

भरतपुर अस्पताललाई छ सय श्ययाको बनाइँदै

इनेप्लिज २०७२ मंसिर २८ गते ४:३१ मा प्रकाशित

bharatpur-hospitalचितवन, २८ मङ्सिर । चितवनको भरतपुरमा रहेको सरकारी अस्पताल भरतपुर अस्पताललाई ६०० श्ययाको बनाइने भएको छ । सरकारको ३०० श्यया स्वीकृति पाएको सो अस्पतालले विकास समितिबाट थप ३०० श्यया सञ्चालनको अन्तिम तयारी गरेको छ ।

यसअघि निजी स्रोतबाट १३५ श्यया सञ्चालन हुँदै आएकामा १६५ श्यया थप गरेर ६०० श्यया पुर्‍याउन लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भूर्तेलले बताउनुभयो । थप श्यया सञ्चालनका लागि रु ३५ करोडको लागतमा अस्पताल भवन सम्पन्न भइसकेको छ भने रु चार करोड बराबरको थप उपकरण खरिदका लागि टेन्डर स्वीकृत भइसकेको छ ।

सरकारी तवरबाट ८० प्रतिशत र विकास समितिबाट २० प्रतिशत लगानीमा अस्पतालको ए ब्लक भवन सम्पन्न भएको डा भूर्तेलले बताउनुभयो । एक महिनाभित्रमा उपकरण आइसक्ने बताउँदै उहाँले माघ १ गतेबाट अस्पताललाई ६०० श्ययाको बनाउने गरी काम भइरहेको उल्लेख गर्नु भयो ।

थप श्ययासँगै हाल सञ्चालनमा रहेको नौ श्ययाको सघन उपचार कक्षलाई २८ श्ययामा पुर्‍याइने छ भने १० श्ययाको पोष्टअपरेटिभलाई १० श्यया थप गरी २० श्यया पुर्‍याइने छ । सोही भवनमा अत्याधुनिक तवरको ६० श्ययाको मेडिकल वार्ड सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

त्यसैगरी सुविधासम्पन्न २४ वटा क्याविन, छजनाको एकै पटक शल्यक्रिया गर्न सक्ने गरी शल्यक्रिया कक्ष र १५ श्ययाको नवजात शिशु सघन उपचार कक्ष सञ्चालनमा आउने छ ।

अस्पतालमा हालसम्म शिशु सघन उपचार कक्ष नहुँदा धेरै नवजात शिशुको अकालमै ज्यान जाँदै आएको छ भने तीनवटा मात्रै शल्यक्रिया गर्न सकिने हुँदा धेरै बिरामीले लामो समय शल्यक्रियाको पालो पर्खनुपरेको छ ।

थप श्यया सञ्चालनका लागि १५ जना चिकित्सक, ९० जना स्टाफनर्स, ५० जना कार्यालय सहयोगी थप गर्ने तयारीमा रहेको मेडिकल सुपरिटेन्डेन्ड भूर्तेलले बताउनुभयो ।

सो अस्पतालले चितवन र छिमेकी जिल्लाहरुबाट आउने दुई लाख बिरामीको बर्सेनि उपचार गर्दै आएको छ । जसमध्ये ५० हजारले भर्ना भएर उपचार पाएको अस्पतालले जनाएको छ ।
अस्पतालले पछिल्लो समय शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । अस्पतालले यस वर्षबाट एमडी र बिएनको पढाइ सुरु गरेको छ भने यसअघि प्रविणता प्रमाणपत्र तहमा नर्सिङ पढाउँदै आएको छ ।

प्रतिक्रिया