तीन वृद्धलाई सम्मान

इनेप्लिज २०७२ मंसिर २८ गते ३:४६ मा प्रकाशित

100-year-old local resident Babou Zay holds his walking stick as he talks to a journalist about his damaged house near Mingora in Pakistan's Swat Valleyफलेवास (पर्वत), २८ मङ्सिर । यहाँको एक मगर बस्तीमा उमेरले ९० वर्ष काटेका ब्राह्मण समुदायका वृद्धहरुलाई सम्मान गरिएको छ ।

कुष्मा नगरपालिका– १८ पकुवास्थित छापको मगर गाउँमा नेपाल मगर सङ्घको नवौ वार्षिकोत्सवको अवसरमा स्थानीयवासी ब्राह्मण समुदायका वृद्धहरुलाई सम्मान गरिएको हो ।

गाउँमा सबैभन्दा धेरै वर्ष बाँचेर गाउँको सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा स्थानीयवासी ९७ वर्षीय चूडामणि तिमिल्सिना, ९५ वर्षीय हरिदत्त तिमिल्सिना र ९३ वर्षीय त्रिलोचन तिमिल्सिना रहनुभएको छ । उहाँहरुलाई दोसल्ला, प्रमाणपत्र, खादा र माला लगाएर सम्मान गरिएको थियो । वयोवृद्ध उमेरसम्म पनि गाउँको विकासका लागि नयाँपिँढीलाई प्रेरणा प्रदान गर्दै आएका वयोवृद्ध लाई सम्मान गरिएको मगर सङ्घका नरेन्द्रजङ्ग रानाले बताउनु भयो ।

छाप गाउँमा १६ परिवार मगर रहेका छन् । उनीहरुले हरेक वर्षको मङ्सिर महिनामा वार्षिकोत्सव मनाउँदै आएका छन् । उहाँहरुलाई स्थानीय समाजसेवी रुद्रप्रसाद शर्मा र सङ्घका अध्यक्ष हस्तबहादुर रानाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

जीवनको उत्तरार्धमा सम्मानित भएकामा वृद्धहरु हर्षित बनेका छन् । लामो समय बाँचेर समाजमा गरेको योगदानको कदर भएको अनुभूति भएको ९७ वर्षीय वृद्ध चूडामणि तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीजस्ता वृद्धलाई सम्मान गरेकामा मगर समुदायलाई धन्यवाद दिन चाहान्छाँै ।” समाजमा जनजाति र ब्राह्मणबीच कुनै पनि भेदभाव हुन नहुने र आफूहरुजस्तै सबै मिलेर बसेमा मुलुककै एकता अझ बलियो हुने उहाँहरुको भनाइ थियो ।

सम्मानित भएपछि वृद्धहरु पञ्चेबाजामा छमछमी नाचेका थिए । अर्का वयोवृद्ध हरिदत्तले जीवनमा ९५ वर्षको उम्मेरसम्म बाँच्न पाउँदा आफू निकै खुसी रहेको र समाजमा समेत आफूले गरेको योगदानको कदर गर्नेजस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

त्यस्तै त्रिलोचन तिमिल्सिनाले मगर समुदायले गरेको सम्मानबाट आफू निकै गौरवान्वित भएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा मगर समुदायका विभिन्न संस्कृति झल्कनेखालका प्रस्तुतिसमेत राखिएको स्थानीय हरिबहादुर रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया