सोमबार, साउन १८ २०७८
काठमाडौं ००:५१
वासिङटन डिसी 15:06

पूर्ण मानव  र परिवर्तनशील समाज  

इनेप्लिज २०७२ मंसिर २७ गते २०:०३ मा प्रकाशित

bishwa-ji-800x600

  “न मानिसको जीवन न समाजको इतिहास बुझन सकिन्छ, जबसम्म दुवै बुझन सकिदैन।”

– C. W. Wright Mills  

मानिस यो संसारमा एक्लै आउँछ र संसारबाट एक्लै बिदा लिन्छ। कहाँबाट मानिस आएको हो र मरेपछि कहाँ जान्छ कसैलाई थाहा छैन। जे जति थाहा छ त्यो एउटा विश्वास मात्र रहेको छ, न कि बैज्ञानिक प्रमाणमा आधारित सत्य। तर एउटा कुरा के सत्य हो भने हरेक मानिसको आफ्नै जीवन हुन्छ र आफ्नै कर्म। र, मान्छेले आफ्नो कर्म अनुसारको फल पाउँछ। यो सत्य देखन अर्को जन्म कुर्नु पर्दैन यदि ‘जीवन र मृत्युको चक्र’ सत्य हो भने। तर, रुसोले भने झैं मान्छे जन्मदा स्वतन्त्र हुन्छ तर जिउँदा जताततै हरेक पलमा बन्धनमा हुन्छ। समाजमा स्थापित मूल्य र मान्यतामा आफ्नो जीवन र कर्मलाई बाँध्नु पर्छ। त्यो जरुरी पनि छ किनकी  मानिस एक सजिब प्राणी मात्र नभएर एक “सामाजिकप्राणी पनि हो। तर, कति सम्म बाँधने र के-कस्तो कुरामा बाँधने भन्ने हरेक मानिस पिच्छे फरक पर्छ। मानिसमा ‘विवेक’ वा ‘चेतना’ भएकै कारणले उ एउटा सामाजिक प्राणी भई समाज निर्माण गर्न पुग्यो। त्यो मानव समाज फैलदै आज यो धर्तीमा उसको कब्जा छ।

संसार साँचिकै चलायमान छ। दश हजार वर्ष पहिले मानिसले घुमन्ते फिरन्ते ‘सिकारी युग’ बाट एउतै ठाउँमा बस्ने ‘कृषि युग’ मा फड्को मारे र एउटा स्थायी मानव समाजको सुरुवात भयो। ती स्थायी समाज’ बसाउने अगुवा मानिसहरुले ‘सिकारी समाज’ का मूल्य र मान्यतालाई हुबहु अनुसरण गरेको भए आज हामी यो आधुनिक समाज सम्म आइपुग्दैनौं थियौं। चलिआएको कुराहरुलाई हुबहु अनुसरण गर्नु भनेको संसारको नियम बिपरित हो किनकि यो परिवर्तनको बाधक हो। र, जुन कुरा परिवर्तनको बाधक हुन्छ, त्यसको पतन चाडै हुन्छ। पाँच हजार वर्ष पहिले संसारमा कुनै धर्म थिएन। केहि थियो त केवल आदिम प्रकृति पुजक। ‘स्थायी समाज’लाई अर्को फड्को मार्न केहि अगुवाहरुले भौतिक मात्र नभई आध्यात्मिक जगतको खोज गरी स्थापित विश्वास र मान्यतामाथि प्रस्न गरि विभिन्न धर्मको सुरुवात गरे। धर्मको बिकास संगै मानव समाजले अर्को फड्को मार्यो। तर, धर्म संगसंगै संस्कार, जाति, भेष, वर्ण, अनि राष्ट्रीयता को नाममा संसार विभक्त भयो। बिगत पाँच हजार बर्षमा संसारमा ४ अर्ब वर्षका पर्खाल भन्दा कयौं गुणा बढी मानव निर्मित पर्खाल खडा भए – बिशेष गरी भौगोलिक तथा विचारका पर्खाल।

वास्तवमा संसारमा ‘आफ्नो’ र ‘अर्काको’, ‘हाम्रो’ र ‘अरुको’ भन्ने साँचिकै केही छैन। यो केवल भौतिक र वैचारिक भ्रम मात्र हो।  यो भ्रम भन्दा माथि उठ्न सके मानिसलाई एक पूर्ण मानव हुने बाटो खुल्छ भने समाजको परिवर्तनको पनि बाटो खुल्छ। मानव जीवन केवल बिचारको एउटा कोठामा बिताउनको लागि धेरै बहुमुल्य छ। त्यसो गर्नु भनेको आफ्नो जीवनको संकुचन हो, एक तरिकाले खेर फाल्नु हो। राम्रो कुरा’ कुनै एक धर्म, जाति, वर्ण, वा राष्ट्रको मात्र हुदैन। यो सत्य बिर्सेर खाली आफ्नो कुरा जम्मै राम्रो भनेर अन्ध दिमागले अरुको राम्रो कुरालाइ नमान्ने मानिसको दिमागको बिकास (जति हुनु पर्ने हो त्यति) हुन सक्दैन। यो कुरा समाज र देशको लागि पनि लागू हुन्छ। आज अमेरिका किन संसारकै सर्बशक्तिसाली देश बनेको छ?  धेरैले आर्थिक या सामरिक शक्तिलाई मान्लान।  तर जरामा केलाउने हो भने यसको कारण अमेरिकाको ‘खुला समाज’ हो। जब सम्म अमेरिकामा संसारभरीका मानिस र बिचार अटाउन सक्छन अनि जब सम्म अमेरिकीहरुले संसार भरीका राम्रा बिचारलाई आफ्नो बिचारमा मिलाउन सक्छन, तबसम्म चीन होस् कि रूस संसारको कुनै पनि देशले आधारभूत रूपमा अमेरिकालाई उछिन्न सक्दैन।

जो व्यक्ति जुन समाज आफ्नो ‘नराम्रो’ बिचारलाई त्याग्न सक्दैन अनि अरुको राम्रो बिचारलाई ग्रहण गर्न सक्दैन, त्यो व्यक्ति, त्यो समाजको विकास ठप्प हुन्छ। आर्थिक बिकास होला तर बिचारको हिसाबले जहाँको त्यहि रहनछ। म लिम्बु परिवारमा जन्मेको हूँ। आजकल लिम्बुहरुले दशैं मान्न छाडेका छन्।  तर, म आस्थाले बौध भए पनि दशैं मान्न छाडेको छैन।  निधारमा रातो टिका र कानमा जमरा सहित ठूलाका आशिर्वाद थाप्न छाडेको छैन। यदि कुनै कुरा राम्रो छ भने र आफुले मान्दै आएको हो भने, खालि अर्काको भनेर नमान्नु एक पूर्ण मानव हुनुको बाधक हो। तेसैले, कति नेपाली क्रिस्चियनहरुले रातो टिका लाउने नहुने, पूजाको प्रसाद खाने नहुने कुरा पनि पूर्ण मानव हुनुको बाधक हो। तेस्तै, हिन्दुहरुलेपनि अरु धर्मको राम्रो कुरा भएपनि ‘त्यो हाम्रो धर्मको होइन’ भनेर नहेर्नु एक पूर्ण मानव हुनुको बाधक हो। मानव अधिकार, संसदीय लोकतन्त्र, बाल अधिकार, र लैंगिक अधिकार जस्ता कुराहरुलाई पश्चिमी बिचार भनेर जानेर वा नजानेर तिरस्कार वा आलोचना गर्नु भनेको आफ्नो विवेकको प्रयोग नगर्नु हो वा सुनियोजित दुरुपयोग हो। जब सम्म मानिस एउटा धर्म, एउटा जात, एउटा वर्ण, एउटा वर्ग, एउटा समुदाय, र एउटा राष्ट्र भन्दा माथि उठ्न सक्दैन, तब सम्म उ एउटा पूर्ण मानव बन्न सक्दैन। 

आफ्नो विवेक प्रयोग गरी यो वा त्यो धर्म, संस्कृति, जात, वर्ण, र देश नभनी खालि ‘राम्रो’ र ‘नराम्रो’ कुरा छुट्याई ‘राम्रा’ कुरा अनुसरण गरि अघि बढ्ने हो भने एउटा पूर्ण मानव बन्न सकिन्छ। त्यस्ता मानिस जुन समाजमा बढी हुन्छन, त्यो समाजनै सबै भन्दा बिकसित र शक्तिसाली समाज बन्दछ किनकि त्यो समाज परिवर्तनशील समाज हो। समाज र मानिसको जीवन एक अर्काका परिपुरक हुन्। त्यस्ता मानिसले राम्रो समाजको निर्माण गर्छन भने राम्रो समाजले त्यस्ता मानिसको निर्माण गर्छन। र, त्यस्तो समाजको निर्माण उचित शिक्षाबाट मात्र सम्भव छ।  शिक्षा र संस्कारमा परिवर्तन नभई त्यस्तो समाजको निर्माण असम्भव छ। 

[email protected]

प्रतिक्रिया