सोमबार, साउन १८ २०७८
काठमाडौं १०:००
वासिङटन डिसी 00:15

मुक्त कमैयाको साधारणसभा सम्पन्न

इनेप्लिज २०७२ मंसिर २७ गते १:५७ मा प्रकाशित

भीमदत्तनगर, २७ मङ्सिर । मुक्त कमलरी विकास मञ्च शाखा, कञ्चनपुरको शनिबार सामाजिक लेखाजोखा तथा पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

‘एक घर एक सदस्य सहकारी, एक घर एक सदस्य व्यापारी, एक घर एक सदस्य रोजगारी’ भन्ने नारासहित मुक्त कमलरी मञ्च कञ्चनपुरसँग आबद्ध छवटा सहकारी सञ्चालनमा रहेका छन् ।

मुक्त कमलरी/मुक्त कमलर बालबालिकालाई पुनःस्थापना गर्ने र निःशुल्क शिक्षाको व्यवस्था गर्नेजस्ता उद्देश्य रहेको मञ्चले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा काम गर्दै आएको छ । मञ्चसँग आबद्ध ३६८ साधारण सदस्य र २५४ जना अस्थायी सदस्य रहेका छन् भने ९७० बढी सहकारीमा आबद्ध सदस्य रहेका छन् ।

कञ्चनपुरमा १६ जनालाई घुम्ती कोषबाट ऋण लगानी गरिएको मञ्चले जनाएको छ । झलारीमा भएको पाँचौँ साधारणसभामा रु आठ लाख २९ हजार ९१६ को आयव्यय संस्थाकी कोषाध्यक्ष पार्वती चौधरीले प्रस्तुत गर्नुभएको थियो । पाँच जिल्लामा सञ्चालन गरेको परियोजनामा १०७ जना स्वरोजगार भएको कार्यक्रममा जानकारी दिइएको छ ।

कञ्चनपुरमा ७७ जनालाई प्रतिविद्यार्थी रु दुई हजारका दरले रु एक लाख ५४ हजार छात्रवृत्ति वितरण गरिएको छ । संस्थाले कञ्चनपुरमा पछिल्लो पटक ३२ जना कमलरीलाई मुक्त गराएको बताएका छन् । अहिले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा तीन हजार ५६१ मुक्त कमलरी स्कुल पढिरहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।

वि.स.२०६७ सालमा स्थापना भएको संस्थाले विगत एक वर्षदेखि मुक्त कमलरी सशक्तीकरण परियोजना चलाइरहेको जनाएको छ । परियोजनाले कमलरीको उद्धार तथा पुनःस्थापनामा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया