इन्धन अभावले बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र

इनेप्लिज २०७२ मंसिर २७ गते १:३८ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, २७ मङ्सिर । भारतीय नाकाबन्दीका कारण इन्धन अभावले म्याग्दीका विकास निर्माण योजना प्रभावित बनेका छन् । सदरमुकाम बेनीदेखि गलेश्वर बजारलाई जोड्ने सडकखण्डमा कालोपत्र योजना इन्धन अभावले अलपत्र परेको छ ।

गत भदौदेखि सुरु गरिएको तीन किमी लामो बेनी–गलेश्वर सडकखण्डमा कालोपत्र गर्नका लागि सडक विस्तारको काम विगत दुई महिनादेखि रोकिएको छ । सडक डिभिजन कार्यालय बागलुङसँग रु चार करोड ८९ लाख ४४ हजार ८८९ लागतमा योजना सम्झौता गरी बिरुवा विशाल एण्ड विराज जेभी कम्पनीले प्रारम्भिक काम सुरु गरेको थियो ।

तीन दशमलब ५ किलोमिटर लामो सडकमा १५ महिनाभित्र कालोपत्र गर्ने गरी काम सुरु भए पनि भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सडक विस्तारलगायतका काम रोकिएको कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायी अमृतमान शेरचनले बताउनुभयो ।

कार्यक्षेत्रमा डोजर र ट्र्याक्टर चलाउन दैनिक ५०० लिटर इन्धन आवश्यक पर्ने निर्माण कम्पनीले जनाएको छ । योजनाअनुसार बेनीको कालिपुलदेखि गलेश्वरको राहुघाटमा रहेको मोटरेवल पुलसम्म कालोपत्र गर्ने लक्ष्य रहेको छ ।

योजनाको काम रोकिएपछि सडक फराकिलो बनाउन विभिन्न स्थानमा गरिएको प्रारम्भिक कामले सडकमा माटो र ढुङ्गा थुप्रिँदा सवारी साधन सञ्चालन गर्नसमेत समस्या भएको छ ।

प्रतिक्रिया