कञ्चनपुरमा तीन हजार तेस्रोलिङ्गी

इनेप्लिज २०७२ मंसिर २६ गते ३:४७ मा प्रकाशित

बेलौरी (कञ्चनपुर), २६ मङ्सिर । साढे चार लाखभन्दा बढी जनसङ्ख्या भएको कञ्चनपुरमा तीन हजार जति तेस्रोलिङ्गी फेला परेका छन् ।

अल्पसङ्ख्यक तथा तेस्रोलिङ्गीको अधिकारका लागि कार्यरत ब्ल्यू डायमन्ड सोसाइटीका अनुसार जिल्लामा विभिन्न किसिमका तीन हजार तेस्रोलिङ्गी सम्पर्कमा आएका छन् । संस्थाले जिल्लामा सर्वेक्षण गरेअनुसार कञ्चनपुरमा हालसम्म उक्त सङ्ख्या देखिएको ब्ल्यू डायमन्ड सोसाइटीका क्षेत्रीय संयोजक राजु लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै पनि तेस्रोलिङ्गी समुदायको डरले खुल्न चाहेका छैनन् । कतिपयले बिहेपछि मात्रै आफू तेस्रोलिङ्गी भएको थाहा पाउने गरेका छन् । अझै पनि समाजमा अल्पसङ्ख्यक व्यक्तिप्रति हेर्ने दृष्टिकोण भेदभावपूर्ण रहेको संयोजक लामाको गुनासो छ ।

राज्यले तेस्रोलिङ्गी समुदायको हकअधिकार संविधानमै उल्लेख गरेको बताउँदै उहाँले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । “पहिचानका आधारमा नागरिकता, पासपोर्टको व्यवस्था भएकाले तेस्रोलिङ्गीले अन्य भनेर दुबै सेवा लिइरहेका छन्”, उहाँले भन्नुभयो, “विगतको जस्तो झन्झटिलो छैन ।” अझै पनि अधिकारका लागि तेस्रोलिङ्गी एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया