इनरुवामा पाँच धुरभन्दा कम जग्गामा घर नक्सा पास नगर्ने

इनेप्लिज २०७२ मंसिर २६ गते ३:३८ मा प्रकाशित

इनरुवा, २६ मङ्सिर । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले अब नगरपालिका क्षेत्रभित्रमा पाँच धुरभन्दा कम जग्गामा घर नक्सा पास नगर्ने भएको छ ।

इनरुवा नगरपालिकाले शुक्रबार विशेष नगर परिषद् सम्पन्न गर्दै नगरपालिका क्षेत्रभित्रमा पाँच धुरभन्दा कम जग्गामा घर नक्सा पास नगर्ने रणनीति ल्याएको हो । नगर क्षेत्रको विकासका लागि भन्दै नगरपालिकाको विशेष परिषद्मा घर नक्सा मापदण्ड र कार्यविधिसमेत पारित गरिएको हो ।

अब नगरपालिकामा पाँच धुरभन्दा कम जग्गामा घर नक्सा पास नगर्ने र घरसमेत बनाउन नपाउने निर्णयसहितको परिषद् सरोकारवालाको सहभागितामा सम्पन्न भएको नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो ।

मेहताका अनुसार नगर क्षेत्रलाई मजबुत बनाउने र भूकम्प प्रतिरोधी घर भवन बनाउने भएकाले घर नक्सा मापदण्ड कार्यविधि परिषद्ले ल्याएको हो ।

प्रतिक्रिया