महिला हिंसाविरुद्धको अभियानका चार बुहारी सम्मानित

इनेप्लिज २०७२ मंसिर २५ गते १:५२ मा प्रकाशित

इटहरी, २५ मङ्सिर । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा बिहीबार यहाँ आयोजित कार्यक्रममा चार बुहारीलाई सम्मान गरिएको छ । उहाँहरुलाई घरपरिवार अघि बढाउनका लागि उदाहरणीय कार्य गरेको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा गोरखा डिपार्टमेन्ट सञ्चालनमा ठूलो योगदान दिने अञ्जु आचार्य तथा परिवारको सफलताका लागि अग्रणी भूमिका खेल्ने बुहारीहरु लीला लम्साल दुर्गा दङ्गाल र पवित्रा बराललाई दोसल्ला ओढाएर फूलमाला लगाएर सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले उहाँहरुलाई सम्मान गर्दै परिवार वा राष्ट्रको सफलताका लागि महिलाको योगदान उदाहरणीय हुने विश्वास व्यक्त गर्नुभयो ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानकी संयोजक कमला खड्काको सभापतित्वमा भएको कार्यक्रममा परिवार अर्थात् श्रीमान्बाट अमानवीय यातना पाएकी सुनसरी हाँसपोसाकी तीन छोराकी आमा गोमा घिमिरेले आफूलाई श्रीमान्ले बन्चरोले हिर्काएर चारवटा करङ नै भाँचिदिएको पीडादायी अवस्थाको घटना सुनाउनुभएको थियो ।

कार्यक्रममा महिला सङ्घ सुनसरीकी अध्यक्ष विजया कटवाल अनेमसङ्घकी नेता लक्ष्मी गौतम, दिलकुमारी राई, इन्द्रवती नेम्वाङ, प्लान नेपालकी टङ्कमाया लिम्बू, माओवादीकी शारदा पोख्रेललगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया