शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:५८
वासिङटन डिसी 22:13

यस्ता छन् जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी

इनेप्लिज २०७२ मंसिर २४ गते ४:३५ मा प्रकाशित

12348248_10207637517033248_696972803_nबिर्तामोड, २४ मङ्सिर । जिल्ला प्रशासन कार्यालय झापा अहिले नयाँ भवनमा छ । कर्मचारीको जिम्मेवारी छुट्टा–छुट्टै कोठामा तोकिदिएकाले पहिलेको जस्तो भिडभाड देखिँदैन । कार्यालयमा झण्डै आधा दर्जन (५ जना) प्रशासकीय अधिकृत छन् । ती मध्येका एक राजु दाहाल र सहायक प्रमुख जिल्ला अधिकारी डम्बरु निरौलाले सेवाग्राहीलाई गरेको व्यवहार हामीले प्रत्यक्ष अवलोकन गरेका छौँ ।

हामी पेट्रोलको कुपन (पास) लिनका लागि बुधबार प्रशासन कार्यालय पुग्यौँ । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल ‘महत्वपूर्ण’ बैठकमा थिए । हामीमध्ये एक पत्रकारले फोन गरेपछि प्रजिअ पौडेल ढोकाबाहिर निस्किए । र, पास लिनका लागि प्रशासकीय अधिकृत दाहाललाई भेट्न भने ।

अधिकृत दाहाल निकै ब्यस्त थिए । त्यतिबेला उनको काम पेट्रोलको पासका लागि लगिएको निवेदनमा तोक लगाउने थियो । १०२ नम्बरको उनको कोठामा पास लिनेहरुको निकै भिड थियो । अधिकृत दाहालले हामीलाई २० लिटर पेट्रोल र ४० लिटर डिजेलका लागि तोक लगाइदिए ।

‘सर अब कति नम्बर कोठामा जानु ?’, दुइपटक सोध्दा पनि दाहाल चुइँक्क बोलेनन् । त्यसपछि हामी लाग्यौँ प्रजिअ पौडेलकै निजी सचिवको कोठामा । त्यहाँबाट थाहा भयो पास ३०२ नम्बर कोठाबाट उपलब्ध हुँदो रहेछ । त्यहाँ कानमा कुण्डल लगाएका खरदार तेजेन्द्र न्यौपाने थिए । निकै अबेर गरी उनले पास उपलब्ध गराए । महिला देखेपछि निक्कै शिष्टाचार देखाउने न्यौपानेले पुरुष सेवाग्राहीलाई खासै वास्ता गरेनन् ।

पास लिएर हामी बिर्तामोडस्थित हनुमान पेट्रोल पम्प पुग्दा पेट्रोल पाएनौँ । ‘खोई त कुपनमा मिति पनि छैन, सहि गरेको पनि छैन,’ पम्पका कर्मचारीले भने, ‘यस्तो कुपनले हामी तेल दिन सक्दैनौँ, सहि गराएर ल्याउनुस् ।’ कोठा नम्बर ३०२ का मुन्द्रे कर्मचारीले पास दिएपनि ‘प्रशासकीय अधिकृत दाहालको हस्ताक्षर गराएर लैजानु’ नभन्दा हामीले दोहोरो झञ्जट पायौँ ।

कुपनमा प्रशासकीय अधिकृत दाहालको हस्ताक्षर गराउन हामी बिहीबार पुनः प्रशासन कार्यालय पुग्यौँ । कार्यालयमा प्रजिअ नहुँदा कर्मचारीको काम गर्ने शैली वर्णन गरिसाध्य छैन । कुरा बिहीबार दिउँसो २ बजेको हो । प्रशासकीय अधिकृत दाहाल आफ्नो कोठाबाट बाहिर निस्किँदै थिए । मोबाईलमा कुरा गर्दै उनी माथिल्लो तलामा उक्लिए । उनको कोठाभरी सेवाग्राही बसिरहेका थिए । निकै बेरसम्म दाहाल नओर्लिएपछि हामी उनलाई खोज्न माथितिरै उक्लियौँ ।

कर्मचारीको लापरबाहिका बारेमा जानकारी गराउन सोझै प्रजिअ पौडेलको कार्यकक्षतिर लाग्यौँ । तर, निजी सचिवले प्रजिअ नभएको जानकारी दिए । २४औँ अपाङ्ग दिवस परेकाले प्रजिअ पौडेल एउटा कार्यक्रममा ‘प्रमुख अतिथि’ बन्नका लागि गएका थिए । फोन गर्दै माथिल्लो तला उक्लिएका प्रशासकीय अधिकृत दाहाल सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको कोठा (२०५) मा छिरे ।

‘सर अब कति नम्बर कोठामा जानु ?,’ एकजना सेवाग्राहीले सहायक प्रजिअ निरौलालाई सोधे । ‘खाली कति नम्बरमा जानु भन्दै सोध्या छ । मलाई के थाहा ?,’ निरौला जङ्गिए, ‘अघि जहाँबाट आएको हो त्यहिँ जानु ।’ इलामका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीसँग निरौला गफ गर्दै थिए त्यसबेला । प्रशासकीय अधिकृत दाहाल भने त्यहिँ फोनमा ब्यस्त थिए ।

दाहाल त्यहाँबाट पनि फुत्त निस्किए । उनी २०३ नम्बरमा पसे । भानु नाम गरेका कर्मचारीलाई उनले दुई/तीन पटक बोलाउँदै प्रमुख जिल्ला अधिकारीको निजी सचिवको कोठामा पसे । तुरुन्तै निस्किएका उनी कम्प्युटर कक्ष (२०६) मा पसे । कानमा मोवाइल अझै थियो । फोनमा कुरा गर्दै गर्दै उनी पुनः २०३ मै आए । आफ्नो कोठा (१०२) मा सेवाग्राही बसिरहेको कुरा उनलाई जानकारी नभएको पक्कै होइन । तर उनी अलमल गर्दै थिए ।

12325438_831329646993331_1107338891_nलगभग आधा घण्टा पछ्याउँदा पनि प्रशासकीय अधिकृत दाहाल आफ्नो कोठा फर्किएनन् । अन्त्यमा उनी २०३ नम्बर कोठामै मोबाइल क्याच–क्याच पारेर बसिरहे (हेर्नुहोस् तस्वीर) । हामी २०३ मै प्रवेश गर्यौँ । र, हस्ताक्षर गरिदिन अनुरोध गर्यौँ । पछाडिबाट उनको तस्वीर लिने क्रममा क्यामराबाट आवाज आयो । उनी झस्किए ।

हामी २०३ बाट बाहिरिँदै गर्दा सहायक प्रजिअ निरौला पनि उनको कोठा (२०५) बाट निस्किँदै थिए । अघिल्लो दिन कुपन दिने मुन्द्रे खरदार न्यौपाने कार्यालय अगाडि गफ गरिरहेका थिए । सबै कर्मचारी आ–आफ्नै तालमा रहेका कारण सेवाग्राही दिक्क देखिन्थे । अधिकांश सेवाग्रही प्रजिअ पौडेलको कार्यशैलीप्रति भने सन्तुष्ट थिए । ‘सिडिओ सा’ब त साह्रै असल हुनुहुन्छ,’ एक सेवाग्राहीले भने, ‘उहाँ काम विशेषले बाहिर जानुभयो भने चाहिँ साह्रै दुःख पाइँदो रहेछ ।’

यी विषयमा प्रजिअ पौडेलसँग टेलिफोनमा कुराकानी गर्दा कमिकमजोरीलाई तत्काल सुधार गर्ने प्रतिक्रिया दिए । ‘फ्यूलको जिम्मा राजुलाई दिइएको छ,’ उनले भने, ‘त्यस्तो असजिलो भएको हो भने म करेक्सन गर्छु ।’

झापाबाट प्रकाशित बिर्ताज्योति साप्ताहिकबाट

प्रतिक्रिया