हिंसाविरुद्ध चेतना दिन ‘सासू बुहारी सम्मान’

इनेप्लिज २०७२ मंसिर २४ गते ३:०१ मा प्रकाशित

रत्ननगर (चितवन), २४ मङ्सिर । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा चितवनमा फरक खाले कार्यक्रम भएको छ ।

घर शान्ति नै विश्व शान्तिको आधार भनेझैँ जिल्लामा हिंसाविरुद्ध चेतना फैलाउन असल सासू बुहारीलई सम्मान गरिएको हो । घरमा सासूले बुहारी र बुहारीले सासूलाई हेला गर्ने चलन नेपाली समाजमा अझै रहेकाले यसलाई चिर्नका लागि यो अभियान थालिएको हो ।

नारी अभ्युदय केन्द्र र सामुदायिक सेवा केन्द्र नारायणगढले यहाँ १० परिवारका सासू बुहारीलाई सम्मान गरेको हो । वडा नागरिक मञ्चको सहयोगमा यसरी सम्मन गरिएको वडा नागरिक मञ्च भरतपुर–२ का संयोजक नवराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुदायिक सेवा केन्द्रले वडाबाट उत्कृष्ट र असल सासू बुहारी ल्याउन आग्रह गरेपछि छनोट गरेर पठाएको जानकारी दिनुभयो । बुधबार भएको यो कार्यक्रम सुरुआत भएको र आगामी वर्षमा नियमित गर्दै जाने आयोजकले जनाएको छ । उनीहरुलाई दोसल्लासहित प्रमाणपत्रले सम्मान गरिएको ढकालले जानकारी दिनुभयो ।

यसरी सम्मान पाउने सासू बुहारीमा रनमायाँ गुरुङ र मीना गुरुङ, भीमकुमारी जोशी र शान्ति जोशी, कलावती सापकोटा र सुस्मा सापकोटा, छलिमायाँ नेपाली र लक्ष्मी नेपाली, गोमा आचार्य र राधिका आचार्य, आशमायाँ कर्माचार्य र रत्नमायाँ, उत्तरकुमारी पौडेल र हरिकला, चन्द्रकला निउरे र तुलसी निउरे तथा सरस्वती खरेल र सङ्गीता खरेल रहेका छन् ।

सासूको उमेर ६० कटेको र सँगै १० वर्ष बसेका उनीहरुलाई छनोट गरेर सम्मान गरिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले छोरा बुहारीमा हेर्ने दृष्टिकोण अझै समाजमा राम्रो नभएका बेला यो सम्मान महत्वपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया