यातायातका कार्यालयमा सेवाग्राहीको भीड

इनेप्लिज २०७२ मंसिर २४ गते २:५६ मा प्रकाशित

काठमाडौँ, २४ मङ्सिर । काठमाडौँ उपत्यकास्थित यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयमा सेवाग्राहीको भीड बिहानैदेखि बढेको छ ।

नेपाल आयल निगमले राजस्व नबुझाएका निजी सवारीसाधनका धनीलाई इन्धन नदिने सार्वजनिक सूचना जारी गरेपछि कर तिर्न सेवाग्राहीको ती कार्यालयमा भीड लागेको हो । सल्लाघारी भक्तपुरस्थित यातायात कार्यालय, ललितपुरको एकान्तकुना र ताल्चिखेल र काठमाडौँको सानोभ्याङमा रहेका यातायात कार्यालयमा कर तिर्ने सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीलाई भ्याइनभ्याइ भएको छ ।

नियमितरुपमा चार–पाँचसय सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको ताल्चिखेलस्थित कार्यालयले अहिले दुई हजार बढी सेवाग्राहीलाई सेवा दिँदै आएको छ । आयल निगमको सूचनापछि कर तिर्न आउनेको सङ्ख्या ह्वात्तै बढेको उक्त कार्यालयले जनाएको छ ।

बितेका चार दिनयता बिहान ८ देखि साँझ छ बजेसम्म सेवा प्रवाह भइरहेको छ । अहिले पनि ती चारैस्थानमा सेवाग्राहीको भीड लागेको छ । बिहान ४ बजेदेखि कर तिर्न सेवाग्राही लामबद्ध भएका छन् ।

सेवाग्राहीको चापलाई दृष्टिगत नगरिएको र सहज सेवा प्रवाह नगरेको झोकमा बुधबार सानोभ्याङस्थित कार्यालयमा सेवाग्राहीले तोडफोड गरेका थिए । जेनरेटर सञ्चालन गर्न पर्याप्त इन्धनका साथै सुरक्षाको उचित प्रबन्ध हुनुपर्ने माग कर्मचारीले गर्दै आएका छन् । राजस्व सङ्कलनमा केही सुस्तता आइरहेका बेला यातायात व्यवस्था कार्यालयबाट भने भने उल्लेख्य मात्रामा कर असुली भइरहेको छ ।

प्रतिक्रिया