रासायनिक मलको आपूर्ति केही सहज

इनेप्लिज २०७२ मंसिर २४ गते २:४७ मा प्रकाशित

malधनगढी, २४ मङ्सिर । रासायनिक मलको चरम अभाव भइरहेका बेला सहकारी संस्थाको पहलमा कैलाली जिल्लामा सरकारी अनुदानको मल आपूर्ति हुन थालेको छ ।

मल अभावको समस्या झेलिरहेका जिल्लाका कृषकले मलको आपूर्ति हुन थालेसँगै केही राहत महसुस गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडबाट नियुक्त भएका ठेकेदारले ढुवानी गर्न नसकेपछि कैलालीका सहकारी संस्थाको संयुक्त पहलमा भैरहवास्थित कृषि सामग्रीमा भण्डारण गरिएको मल ढुवानी गरी आपूर्ति हुन थालेको हो ।

तराई मधेसमा जारी आन्दोलनसँगै उत्पन्न असहज परिस्थितिका कारण लिमिटेडबाट नियुक्त भएका ठेकेदारले मलको ढुवानी गरी आपूर्ति गर्न नसकेको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दुर्गाप्रसाद पाण्डेयले बताउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालय र कैलाली जिल्ला आपूर्ति समितिको निर्णयबमोजिम सहकारी संस्थालाई अनुदानको मल ढुवानी गरी बिक्री–वितरण गर्ने जिम्मा दिइएको पाण्डयेले बताउनुभयो । कृषि सामग्रीको भैरहवा, वीरगन्ज र विराटनगरस्थित प्रवेशद्वारमा प्रतिक्विन्टल युरिया रु एक हजार ८०० र डिएपीको रु चार हजार ५०० मूल्य पर्ने गरेको छ ।

मल आपूर्ति केही सहज भए पनि सहकारी संस्थामार्फत ढुवानी भई आपूर्ति भइरहेको अनुदानको रासायनिक मलको बिक्री मूल्य निकै महँगो भएको गुनासो कृषकले गरेका छन् । संस्थाले आजसम्म युरिया, डिएपी र पोटाससमेत गरी करिब एक हजार ४०० मेट्रिक टन मल ढुवानी गरिसकेकामा थप २० वटा सहकारीले मल ढुवानी गरिरहेको बताइएको छ ।

धान र गहुँको दुई याममा गरिने खेतीका लागि सुदूरपश्चिममा ११ हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्ने गरेको छ । मलको चरम अभाव भएपछि दुई हप्ताअघिसम्म अधिकांश कृषकले सीमा क्षेत्रबाट आएको न्यून गुणस्तरको मल महँगो मूल्यमा खरिद गरी गहुँ छरेका थिए ।

प्रतिक्रिया