स्वर्गद्वारी आश्रमका साढे चार सय गाई सङ्कटमा

इनेप्लिज २०७२ मंसिर २४ गते २:२० मा प्रकाशित

प्यूठान, २४ मङ्सिर । इन्धन अभावसँगै स्वर्गद्वारी आश्रममा रहेका करिब ४५० गाई पछिल्लो दुई महिनादेखि पराल र दाना खान नपाउँदा मर्ने अवस्थामा पुगेका छन् ।

स्वर्गद्वारी आश्रमको नाममा रहेको जङ्गलमा सुकेको खरको घाँस उत्पादन नभएको र दाङबाट वार्षिक आउने पराल पनि यस पटकको इन्धन अभावले ढुवानी गर्न नसक्दा खानेकुराको अभावमा ती गाई मर्ने अवस्थामा पुगेको आश्रमका कोठारी प्रमुख हरि अधिकारीले बताउनुभयो । “पछिल्लो दुई महिनादेखि इन्धन अभावले आश्रममा पराल, घाँस र दानाको ढुवानी गर्न सकिएको छैन” कोठारी प्रमुख अधिकारीले भन्नुभयो–“पानीको भरमा बाँचेका गाई थप सङ्कटमा परेका छन् । केही दिन यस्तै रहने हो भने गाई मर्न सुरु गर्नेछन् ।”

स्वर्गद्वारीमा रहेका साना ८० र ठूला ३७० वटा गाई अहिले खाना र दानाको अभावसँगै बिरामी हुन सुरु गरेको कोठारी प्रमुख अधिकारीले बताउनुभयो । “आश्रममा रहेका गाईका लागि दाङबाट बर्सेनि ३० देखि ४५ ट्रकसम्म पराल लिने गरे पनि यसपटक इन्धन अभावले लिन सकिएको छैन ।” अधिकारीले भन्नुभयो–“माओवादी द्वन्द्वपछि आश्रमको नाममा रहेको एक हजार ५० बिघा जमिन कब्जा गरियो । अहिले आश्रमको जमिनबाट केही उत्पादन आउँदैन । भक्तजनले दिएको पराल र दाना पनि यसपटक ढुवानी गर्न नसक्दा समस्या थप चुलिएको छ ।”

आश्रमसँगै घोराहीको झिनौरामा रहेका ७० गाई र देउखुरीको बनगाउँमा रहेका १५० वटा गाईमा पनि केही समस्या देखिएको आश्रमले जनाएको छ । स्वर्गद्वारी आश्रमको नाममा दाङ र प्यूठानमा रहेको एक हजार ५० बिघा जग्गा माओवादी द्वन्द्वपछि आश्रमले प्रयोग गर्न नपाउँदा बर्सेनि गाई पाल्नका लागि समस्या आउने गरेको आश्रमले जनाएको छ । हाल दाङमा रहेका भक्तजनले ३० देखि ४५ ट्रकसम्मको पराल उपलब्ध गराए पनि इन्धन अभावले स्वर्गद्वारीसम्ममा पराल लैजान समस्या भएको छ ।

स्वर्गद्वारी गुरु दिवसका अवसरमा पुष ५ गते सङ्कलन भएको दाना, पराल आश्रममा दिने तयारी भएको भिङ्गृका दोमती खनालले जानकारी दिनुभयो ।

जिल्ला आपूर्ति व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले इन्धन अभावले गाई सङ्कटमा परेको भए जिल्लाबाट इन्धन उपलब्ध गराई समस्या समाधानमा सहयोग गर्ने बताउनुभएको छ । तर आश्रमका कोठारी प्रमुख हरि अधिकारीले जिल्लाबाट दिएको सिमित इन्धनले आश्रममा एकपटक पनि पराल ढुवानी गर्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया