अघिल्लो वर्षको भुक्तानी नपाउँदा किसान मारमा

इनेप्लिज २०७२ मंसिर २४ गते २:२० मा प्रकाशित

परासी, २४ मङ्सिर । नवलपरासीमा उखु किसानले गत वर्ष चिनी उद्योगलाई उखु दिएबापतको करिब रु ८० करोड बाँकी रकम भुक्तानी पाउन सकेका छैनन् ।

उद्योगले यस वर्षको याम सुरु हुन लाग्दासमेत अधिकांश किसानको गत वर्षको बाँकी रकम भुक्तानी नगरेको किसानको भनाइ छ । करिब एक अर्ब रुपैयाँमध्ये बढीमा ३० करोड मात्र उद्योगले किसानलाई भुक्तानी गरे पनि अरू ७० प्रतिशत रकम हालसम्म पनि भुक्तानी नगरेको उखु उत्पादक महासङ्घका केन्द्रीय सदस्य एवम् कृषक अगुवा प्रेमचन्द्र गुप्ताले बताउनुभयो ।

नवलपरासीमा यस वर्षको उखुको क्रसिङ सुरु भई सक्दासमेत उखुका किसानले अघिल्लो वर्षको भुक्तानी रकमसमेत नपाएका हुन् । जिल्लामा रहेका चिनी उद्योगलाई गत वर्ष उखु दिएबापतको रकम हालसम्म पनि पूर्णरुपमा भुक्तानी पाउन नसकेको किसानले बताएका छन् ।

जिल्लामा करिब साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ जसमा करिब १४ हजार घरपरिवार आबद्ध रहेको समितिको तथ्याङ्क रहेको छ ।

जिल्लामा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा चिनी उद्योग र मोहिनी चिनी उद्योग गरी चारवटा ठूला चिनी मिल छन् ।

प्रतिक्रिया