‘मेरै साथीले बनाएको फिल्म खेल्न पनि पैसा मागे’

इनेप्लिज २०७२ मंसिर २३ गते २१:०९ मा प्रकाशित

Narayan-Rija

काठमाडौं । नारायण रिजाल कलाक्षेत्रका लागि नौलो नाम होइन । उनी कलाक्षेत्रमा ठूलो नाम चलेका कलाकार पनि होइनन् । उनले जति अभिनय गरेका छन् त्यो अविस्मरणीय र जीवन्त छन् । साना हुन् वा ठूलो पर्दाका अभिनय सबैमा जीवन्त काम गरेको रिजालको भनाइ छ । ‘म कलाकारिताकै लागि जन्मिएको हुँ’, उनले भने, ‘मेरो नशानशामा कलाकारको रगत सवार छ ।’ कुनै समय कलाकार बन्नका लागि झोला बोकेर काठमाडौंसम्म आइपुगेका रिजालले केही समय राजधानीमा हन्डर खाएको स्मरण पनि सुनाउन पछि पर्दैनन् । ‘कलाकार बन्न म पहिलो पटक काठमाडौं आउँदाको स्मरण गर्दा अहिले अनौठो लाग्छ’, उनले भने, ‘अहिले जस्तो त्यत्ति बेला कहाँ थियो र ? कलाकार बन्नका लागि ठूलै मिहिनेत गर्नु पर्थ्यो ।’ कलाकार बन्ने धुनमा रिजालले सुरुवाती दिनमा केही रकम पनि फसाएका थिए । अभिनय गराउँछु भनेर त्यति बेलाका केही नाम चलेका कलाकारहरूले आफ्नो पैसा खाइदिएको उनको भनाइ छ । ‘सुरुवाती दिनमा अलिअलि पैसा डुबाइयो’, रिजालले भने, ‘पछि बुझ्दै जाँदा आफन्त नहुँदासम्म त्यति बेला कलाकार बन्नै नसकिँदो रहेछ ।’ पहिलो काठमाडौं बसाइबाट पाठसिकेका रिजालले त्यतिबेला आफ्नो इच्छा पूरा गर्न सकेनन् । तर त्यसको केही समयलगत्तै उनले रङ्गमञ्चमा काम पाउन थाले । र उनको कलायात्रा सहज रुपमा अगाडि बढ्यो । अहिले उनले थुप्रै टेलिभिजन कार्यक्रममा आफ्नो सानोतिनो अभिनय गरिरहेका छन् । र गर्ने क्रममा छन् । रिजालले म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । राम्रो अभिनय गर्न सक्ने कलाकार रिजाललाई मनपर्ने विधा हाँस्यव्यङ्ग्य हो । उनी दर्शकलाई हसाउँन पाउँदा आफू आनन्दित भएको महशुस गर्छन् । ‘सबै प्रकारको अभिनय गर्छु’, उनले भने, ‘मलाई मन पर्ने विधा भनेको हास्यव्यङ्ग्य हो ।’ उनले ठूला पर्दाका फिल्ममा पनि अभिनय गरेका छन् । तर उनले आफूले चाहेजस्तो भूमिका पाउन नसकेकोमा भने खिन्न छन् । धेरैले उनलाई फिल्ममा खेल्नका लागि अफर गरेको स्मरण पनि छ । तर फिल्ममा खेल्नका लागि रकम मागेर आफ्नै साथीहरूले धोका दिएको भन्न पछि पर्दैनन्, रिजाल । ‘मेरो अभिनय मन पराउने धेरै छन्’, रिजालले भने, ‘फिल्ममा खेल्दा पैसा दिनुको साटो उल्टै निर्माता र निर्देशकले पैसा माग्छन् । कसरी हामी जस्ता कलाकारको उद्धार हुन्छ ?’ अहिलेको नेपाली फिल्म निर्माणको कार्य देखेर चिन्तित कलाकार रिजालले फिल्ममा धेरै सुधारको आवश्यक्ता रहेको ठान्छन् । ‘फिल्म थोरै लगानीमा पनि राम्रो बनाउन सकिन्छ’, उनले भने, ‘अभिनय र कथावस्तुलाई समेट्न सक्नुपर्छ । आफ्नो वा अर्काको कलाकार भनेर हुँदैन । राम्रोलाई अवसर दिने हो भने फिल्म राम्रो बन्छ ।’ फिल्म बनाउँदा विदेशकै फिल्मको नक्कल गर्नुपर्ने आवश्यक्ता नरहेको भन्दै रिजालले भने, ‘कबड्डी–कबड्डी, छ एकान छ, वडा नम्वर छ आदि फिल्म राम्रा छन् । यस्तै कथावस्तु रहेका फिल्म चल्छन् भने अरु नचल्ने भन्ने हुँदैन ।’ उनलाई ठूलो पर्दाको फिल्म खेल्दा आफ्नै केही साथीहरूले पारिश्रमिक पनि दिएनन् । बरु रिजालसँग फिल्ममा लगानी गर भनेर रकम समेत माग गरेका थिए । त्यही रिस पोख्न रिजालले आफै लगानी गरेर ठूलो पर्दाको फिल्म बनाउने सोँच बनाएका छन् । त्यसको तयारीमा पनि उनी लागी सकेका रिजालले बताए । ‘मैले जसरी हुन्छ फिल्म बनाउँछु’, उनले भने, ‘ती निर्माता र निर्देशकहरूलाई देखाउन पनि राम्रो फिल्म बनाइ छाड्छु ।’

प्रतिक्रिया