कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको स्थापना

इनेप्लिज २०७२ मंसिर २३ गते १९:०१ मा प्रकाशित

चैनन्य कृष्ण

मंसीर २३, स्याङ्जा । ओझेलमा परेको तर अत्यन्त ठूलो पौराणिक महत्त्व बोकेको उत्तरबाहिनी कालीगण्डकीको विशिष्ट महत्त्वलाई उजागर गरी धार्मिक पर्यटनको प्रबर्द्धन र विकास गर्ने, सो क्षेत्रलाई विश्वमा चिनाएर पर्यटनबाट राष्ट्रलाई नै समृद्ध बनाउने लक्ष्य राखी स्याङ्जा जिल्लामा हालै कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको स्थापना गरिएको छ । वैज्ञानिक प्रमाणद्वारा धार्मिक–आध्यात्मिक ज्ञानविज्ञानको बारेमा ओजस्वी प्रवचन गर्ने प्रवक्ता चैतन्यकृष्णको अध्यक्षतामा स्थापित सो प्रतिष्ठानमा धर्म–अध्यात्म एवम् योग वाङ्मयमा ख्यातिप्राप्त योगाचार्य तथा बरिष्ट प्राकृतिक चिकित्सक डा. हरिप्रसाद मानसाग्नि, सन्तनेता शङ्करप्रसाद पाण्डे एवम् विश्वविख्यात आयुर्वेदशिरोमणि आचार्य बालकृष्ण जस्ता व्यक्तित्त्वहरूको समेत विशेष भूमिका रहने बताइएको छ ।

स्याङ्जा र पाल्पा जिल्लाको संगम रामनदी (राम्दी) देखि ज्योर्तिमहालिङ्गधाम मालुङ्गा हुँदै छर्तीसम्म करिब ७ कि.मि.को दुरीमा कालीगण्डकी उत्तरबाहिनी भएकी छन् । ‘प्रयागे शतधा स्नात्त्वा कुरुक्षेत्रे च नैमिषे । कृष्णभायां सकृत्स्नात्त्वा फलं तुल्यं लभेन्नरः ।। गयायं पिण्डदानाच्च लभेच्छतगुणं फलम् ’ – स्कन्दपुराण । अर्थात् “गयामा सय पटक पिण्डदान गरेर पाइने फल कालीगण्डकीमा एकपटक पिण्डदान गर्दा नै मिल्छ । प्रयाग, कुरुक्षेत्र र नैमिषारण्यमा गएर सयपटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकपटक स्नान गर्नाले नै पाइन्छ । ” त्यसमा पनि कालीगण्डकी जहाँ उत्तरबाहिनी भएकी छन् त्यहाँ स्नान गर्नाले करोडौं गुणाबढी फल पाइन्छ ।

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको चिह्न

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको बारेमा न्यूज टिमको तर्फबाट सोधिएको जिज्ञासाको उत्तर दिँदै प्रतिष्ठानका संस्थापक अध्यक्ष चैतन्यकृष्णले अहिले संसारको मूलभूत समस्या भनेकै विज्ञानको दुरूपयोग र धार्मिक अतिबाद भएकाले त्यसको समाधानको लागि ज्ञान र विज्ञान अर्थात् अध्यात्मविज्ञान र भौतिक विज्ञान सँगसँगै हिड्नुपर्ने धारणा राख्दै वैज्ञानिक अध्यात्मबादद्वारा विश्वशान्ति स्थापना गर्न र कालीगण्डकीलाई वाग्मती जस्तै फोहोर हुनबाट बचाउन तथा विश्वसम्पदासूचिमा सूचीकृत गर्नका लागि पनि यो प्रतिष्ठानको आवश्यकता परेको अभिव्यक्ति दिनुहुन्छ ।

नेपालमा स्थान स्थानमा पर्वविशेषका अनौठा संस्कृति रहेको पाइन्छ । जसमा एउटा अनौठो संस्कृति स्याङ्जाको मनोरम धार्मिक क्षेत्र महालिङ्गधाममा विद्यमान छ । चिरञ्जीवी ऋषि मार्कण्डेयले आज पनि महालिङ्गधाममा तपस्या गरेर बसेका छन् भनेर भनिन्छ । यहाँ योगी नरहिनाथले दुईपटक कोटिहोम समेत गर्नुभएको थियो । सीता र हनुमानसहित राम, कपिल, अंगिरा, वशिष्ठ, बलराम र सिद्धबाबालगायतले पनि स्नान तर्पण र साधना गरी बसेको कुरा अनेकौं तथ्यबाट बुझिन्छ । अझै मालुङ्गा तीनतिरबाट गण्डकीले घेरिएर गण्डकी उत्तर फर्केको भूमि भएकाले यसको आध्यात्मिक महत्व झनै बढेको छ । त्यसमा पनि महालिङ्गधामको महत्त्वलाई आनन्द रामायण, वराहपुराण र  स्कन्दपुराणले समेत उल्लेख गरेको पाइन्छ । मार्कण्डेय ऋषिले शिवलाई ज्योतिर्मय महालिङ्गको रूपमा प्रकट गरेको हुनाले त्यो भूमि महालिङ्ग या ज्योतिर्महालिङ्गधाम भएको रहेछ । महालिङ्गबाट अपभ्रंश भएर अहिले मालुङ्गा बनेको छ । मालुङ्गामा दामोदरमासको उत्सव चन्द्रमास अनुसार कार्तिक महिना भरी मनाइने संस्कृति पनि छ । सो समयमा आसपासको क्षेत्रबाट पनि महालिङ्गधाममा मनाइने दामोदर उत्सव हेर्न भक्तजनहरू आउने गर्दछन् । यो समयमा प्रत्येक दिन अलगअलग घरमा विशेष ढङ्गको उत्सव हुने गर्छ । दशैं पछिको कोजाग्रत पूर्णिमाबाट आकाशदीप दर्शन पूर्णिमासम्म १ महिनाको अवधिमा मनाइने सो पर्वमा विशेष गरी दीप प्रज्वलनसहित विशेष भजन र सत्सँग हुने गर्दछ। कार्तिकमा मनाइने दामोदर उत्सवभित्रै लक्ष्मीपूजा, गाईपूजा, भाइटीका, गोबद्धनपूजा, म्हपूजा, नेपालसंवतको नयाँवर्ष जस्ता पर्वहरूसमेत पर्ने भएकोले पनि महालिङ्गधाममा यी पर्वहरूको रौनक नै अझ दर्शनीय हुने गर्दछ । खासमा लक्ष्मीपूजाको दिनमै यशोदाले कृष्णलाई बाँधेको भएकाले कार्तिकका अधिष्ठात्री देवता राधादामोदर भएका हुन् । मालुङ्गामा पूरै एक महिना भरी दामोदर उत्सव मनाउने संस्कृति छ ।

सूचना सञ्चार एवम् राज्यको दृष्टिबाट ओझेलमा परेपनि यो क्षेत्रको पौराणिक महत्त्व र यहाँ मनाइने सांस्कृतिक उत्सवहरू अतुलनीय रहेको हुनाले अबका दिनमा यसको संरक्षण, संबर्द्धन र विकास गरी विश्वभरका धार्मिक पर्यटकहरूको आकर्षक गन्तव्य बनाउन सके राष्ट्रको धार्मिक पर्यटनको स्तरोन्नति मात्रै होइन देशको आर्थिक समृद्धिको समेत बलियो आधार बन्न सक्छ । सो क्षेत्रबाट विभिन्न तहमा प्रतिनिधित्त्व गर्ने जनप्रतिनिधिले पनि यस महत्त्वत्कार्यमा आफ्नो जिम्मेवारी बोध र बहन गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया