एक महिनाभित्र औषधि खरिद गरिन्छ: स्वास्थ्य मन्त्री

इनेप्लिज २०७२ मंसिर २१ गते ५:०२ मा प्रकाशित

Ramjanam-Chaudhariचितवन, २१ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले औषधिको अभाव खड्किएको बताउँदै एक महिनाभित्र औषधि खरिद गरिसकिने बताउनुभएको छ ।

भरतपुरमा आज पत्रकारहरूसँग कुुराकानी गर्दै उहाँले गोदामहरूमा बढीमा ४० दिनका लागिमात्रै औषधि भएकाले अब पनि ढिलो भए जीवन सुरक्षाका लागि अत्यावश्यक औषधिको अभाव हुने बताउनुभयो ।

उहाँले पुरानो खरिद प्रक्रियाबाट औषधि झिकाउन सम्भव नहुने भन्दै फास्टट्र्याकबाट औषधि खरिदका लागि कार्यविधि तयार भइसकेको उल्लेख गर्नुभयो ।

एक दुई दिनभित्र टेन्डर आह्वान गरिने भन्दै मन्त्री चौधरीले गुणस्तरप्राप्त नेपाली कम्पनीलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले आपूर्तिकर्तालाई हवाई मार्गबाट भए पनि समयमै औषधि आपूर्ति गर्न लगाउने बताउनुभयो । केही जीवनरक्षक औषधिहरू नेपालमा नबन्ने भएकाले ती औषधि हवाई मार्गबाट ल्याउने गरी फास्टट्र्याकबाटै खरिद गरिने मन्त्री चौधरीले जानकारी दिनु भयो ।

भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणसमेत गर्नुभएका मन्त्री चौधरीले अस्पतालमा अत्यावश्यक उपकरणहरू लामो समयदेखि बिग्रँदासमेत मर्मत नगरी बाहिर महँगोमा परीक्षण गराउँदै आएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

क्यान्सर अस्पतालको सिटी स्क्यान, मेमोग्राम, ब्राकी थेरापीलगायतका महत्वपूर्ण उपकरण लामो समयदेखि बिग्रिएपछि बिरामीले चार गुणा महँगो शुल्क तिरेर निजी अस्पतालमा परीक्षण गराउँदै आएका छन् ।

मन्त्री चौधरीले ती उपकरण मर्मत गर्न सम्भव भए तत्काल गर्न र मर्मत हुन नसके फास्टट्र्याकबाटै तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री चौधरीले नेपालको राजनीतिक समस्या हल गर्न भारत जानु गलत भएको धारणा राख्नुभयो । हामी आफ्नो समस्या आफँै समाधान गर्न सक्षम भएको भन्दै राजनीतिक समस्या समाधानका लागि विदेशी गुहार्न नहुने बताउनुभयो ।

प्रतिक्रिया